काठमाडौँ– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्वस्वास्थ्य मन्त्री रहेका केन्द्रीय सदस्य गगन थापाबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको खर्चलाई लिएर तालमेल नमिलेको देखिएको छ ।


ADVERTISEMENT


पोष्ट कोभिड समस्याका कारण उपचारका लागि भारतको दिल्लीस्थित पुगेका खनालको उपचार खर्च सरकारले ब्यहोर्ने बताएपछि पार्टी भित्रैबाट उक्त निर्णयको चर्काे आलोचना सुनिन थालेको हो ।


ADVERTISEMENT

# # #


यस विषयमा प्रधानमन्त्री देउवा नेता खनालको उपचार खर्च व्यहोर्ने पक्षमा सकरात्मक देखिएका छन् भने गगन थापाले उनको यस विचारलाई खण्डन गर्दै जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बताएका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासबाट प्रधानमन्त्री देउवाले खनाललाई फोनसंवाद मार्फत उपचार लागत सरकाले व्यहोर्ने आश्वासन दिएको खबर बाहिरिए लगत्तै थापाले कानुनअनुसार खनालको उपचार खर्च सरकारले ब्यहोर्न नमिल्ने बताएका हुन् । उनले यसपछाडिको कारणलाई प्रस्ट पार्ने प्रयास समेत गरेका छन् ।

थापाले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराउँदै विदेशमा उपचार गराउने व्यक्तिलाई सरकारले खर्च व्यहोर्नु गैरकानुनी हुने समेत स्मरण गराएका छन् । उनका अनुसार, वि.सं २०७४ सालमै निर्मित जनस्वास्थ्य ऐनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने उल्लेख गरिएको छ र, यो कानुन २०७५ असोज २ गतेदेखि नै लागू भइसकेको छ ।

‘यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ,’ थापाले भने ।

उनले नेता खनालको उपचारका लागि सहयोग आवश्यक परे देशविदेशमा रहेका नेपालीहरु सहयोगका लागि तयार रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ। उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै।यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारले पनि नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । तर, त्यतिबेला नेता थापाले सरकारको उक्त निर्णयको चर्को विरोध गरेका थिए ।