काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजारमा बिक्री वितरणका लागि ल्याइएको ‘कोरोना गार्ड’ कोरोनाका भाइरसविरुद्व प्रभावकारी नहुने जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै विज्ञापनमा प्रचार गरिएजस्तो कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको ‘कोरोना गार्ड’ जस्ता कुनै पनि विद्युतीय यन्त्रहरु प्रभावकारी नरहेकोले सोको प्रयोग नगर्न आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


कोरोना गार्डले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने र ती सबै भ्रमजन्य एवम् अफवाहपूर्ण रहेको मन्त्रालयको सहप्रवत्ता डा. समिरकुमार अधिकारीले जनाएको हो ।

उक्त विषयबारे उनले अघि भनेका छन्, ‘विज्ञापनमा गरिए जस्तो यस्तो यन्त्रले कोभिड–१९ भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ । अहिलेसम्म कोभिड–१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।’

यस्तै, उनले बजारमा चलेका हल्लाको पछि नलाग्न भन्दै कोरोनाबाट बच्ने वैज्ञानिक उपायहरु भनेकै खोप लगाउने, मास्कको प्रयोग गर्ने, र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्नु हो र यसका अन्य विकल्प नरहेको समेत स्पष्ट पारेका छन् ।

गत वर्ष पनि कोरोनाको भाइरसबाट जोगाउनको लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग गरिएकोमा मन्त्रालयले उक्त कार्ड प्रयोग नगर्न आग्रह गरेको थियो । उक्त कार्डले कोरोना भाइरस सङ्क्रमणबाट नजोगाउने उल्टै मुटु, फोक्सोलगायतमा गम्भीर असर पार्नसक्ने बताइएको थियो ।