काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीका रुपमा नियुक्त भएका हुन्।


ADVERTISEMENT


यसअघि विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, विसं २०७३ मा ऊर्जामन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका हुन् । ऊर्जामन्त्रीका रुपमा उनको कार्यकाल स्मरणयोग्य छ । चर्को विद्युतभार कटौतीका मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन उनले प्रभावकारी कदम चालेका थिए । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाएका शर्मा प्रभावशाली नेता हुन्। कोरोना कहरमा अन्य नेताहरु शक्ति संघर्षमा व्यस्त रहँदा उनी गाउँमा कोरोनाविरुद्धको लडाइमा खटिएर प्रशंसायोग्य काम गरेका थिए ।


ADVERTISEMENT

# # #


मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मिएका शर्माको विशेष रुचिको क्षेत्र साहित्य र कृषि हो । उनी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुपमा निर्वाचित शर्माले राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गरेका थिए । शर्माले जनसेवाश्री र संविधानसभा पदक प्राप्त गरेका छन् ।