काठमाडौँ– मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७७’ उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।


ADVERTISEMENT


हाल सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेकी वादीले मानव अधिकार/सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


विसं २०७८ मङ्सिरमा अन्तरराष्ट्रिय मानवाधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु एक लाख १० हजार पुरस्कार राशि र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने समाजका सभापति गोविन्द खनालले जानकारी दिए ।

विसं २०१८ फागुन ४ गते जन्मिएकी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार सङ्घर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन् । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि सरकारसँग दुई बुँदे सैद्धान्तिक सहमति भएको थियो ।

विपन्न दलित वादी समुदायको हकअधिकारका लागि निरन्तर योगदान गर्दै आएकी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसीले सन् २०१८ को विश्वका १०० उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचीमा १० औँ स्थानमा राखेको थियो । रासस