काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ प्रधानमन्त्री ओलीद्वारा कोभिडको तेस्रो/चौथो लहरतर्फ सचेत रहन आग्रह गरेका छन् ।
आज बिहान ८ बजे नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले जीवन पहिलो प्राथमिकता रहेको बताउँदै सो धारणा व्यक्त गरेका हुन् ।
कोभिड विरुद्धको लडाइँ ‘जीवन पहिला’ भन्ने नाराका अघि बढिएको प्रधानमन्त्री ओलीको भनाई छ । ‘जनताको जीवन नै सबैभन्दा ठूलो प्राथमिकताको विषय हो, त्यो नै ठूलो सम्पत्ति हो र जीवनको रक्षा सबैभन्दा ठूलो कर्तव्य हो’, उनले भने । स्वास्थ्य सेवाको पर्याप्तता नभएको र साधन स्रोतको न्यूनता रहेपनि नेपालमा ठूलो सफलताका साथ कोभिड नियन्त्रण गरिएको ओलीको दाबी छ । कोभिडको तेस्रो÷चौथो लहर चल्छ भन्ने विज्ञहरुको सुझाव तर्फ सचेत गराउँदै उनले नागरिकलाई लापरवाही नगरी सजगता अपनाउन आग्रह समेत गरेका छन् ।
यसैगरि, वीर अस्पताल विविध कारणले सञ्चालन परिचालन र विकास अपेक्षाकृत हुन नसकेको तर्फ ध्यानाकर्षण गराउँदै उनले मानवीय र सेवाभावबाट प्रेरित भएर सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी सेवामा जुट्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले बिरामी र आफन्तसँग गरिने व्यवहारमा सुधारको खाँचो औँल्याउँदै स्वास्थ्य बलियो राख्न खानपिन र आहारविहारमा सुधार गर्न नागरिकलाई सुझाव दिए ।
नेपाल धर्तीकै ज्ञान प्रारम्भ भएको, चिकित्सा विज्ञान, शल्यक्रिया, औषधि विज्ञानको शुरुआत भएको मुलुक भएर पनि बीचमा त्यस्ता उपलब्धि हराउँदै गएको प्रसङ्ग जोड्दै प्रधानमन्त्री ओलीले नेपालमा साढे दुई हजार वर्षअघि शल्यक्रिया विज्ञानको विकास गरिएको, त्यसको महत्वपूर्ण पक्ष चिकित्साशास्त्रको ‘श्रुतिसंहिता’ र औषधि विज्ञानको ‘चरकसंहिता’ भएको तथा त्यसैका आधारमा आयुर्वेदको विकास भएको बताए ।
औषधि विज्ञानको प्रभावकारिता विश्वको कुनै पनि विश्वविद्यालयमा रहेको तर नेपालमा भने विश्वास हराउँदै गएकोप्रति चिन्ता प्रकट गर्दै ओलीले त्यस अवस्थाबाट वीर अस्पतालको शुरुआत भएको र यसले नै स्वास्थ्य शिक्षाको शुरुआत गरेर अर्को ऐतिहासिक काम गरेकामा प्रशंसा समेत गरेका छन् ।
यस्तै, विगतमा जस्तो नभई वर्तमान नेपालको चिकित्सा क्षेत्र धेरै बलियो भइसकेको उनको धारणा रहेको छ । यस विषयमा बोल्दै उनले भने, ‘हिजो हामीकहाँ धेरै अभाव थियो, मेरै मिर्गौला प्रत्यारोपण (२०६४ साल साउन) भारतमा गरिएको थियो, अहिले नेपालमा सफलताका साथ प्रत्यारोपण हुने स्थिति आएपछि दोस्रोपटक नेपालमै गर्न पाएको छु ।’ बाहिरभन्दा सफलतापूर्वक र व्यवस्थित ढङ्गले नेपालमा उपचार पद्धतिको विकास भएको उनको अनुभव छ ।
प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपण गर्दा रु सात÷आठ लाख लागेकामा त्यही उपचार बाहिर भएको भए कम्तीमा रु २० देखि २५ लाख लाग्ने जिकिर गरे । कोरोना महामारीका बेला पहिलो पटक हङ्कङमा स्वाब परीक्षण गराउनुपरेको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले अहिले १०० भन्दा बढी ठाउँबाट परीक्षण भइरहेको र यो नेपालको लागि एक ठुलो उपलब्धि समेत रहेको जनाएका छन् ।
स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति बढिरहेको, विशिष्टीकृत अस्पताल बनेको, उपकरण उपलब्धताका हिसाबले समेत चिकित्सा क्षेत्र धेरै माथि बढिसकेको जनाउँदै उनले तीन वर्षमा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको जनाए । स्वास्थ्य क्षेत्रलाई सरकारले पनि सबै हिसाबले आधुनिक र सुविधायुक्त बनाउँदै लगेको जानकारी दिँदैै उनले भने, ‘ज्ञान, शास्त्र, अक्षर, गणित र अङ्क नेपालमै उत्पन्न भएको हो, यसलाई फेरि पनि ज्ञानको उत्पादन र वितरणको केन्द्र बनाउनुपर्छ ।’
‘अब खोपका लागि जनता तड्पिनु पर्दैन’
यसैगरि खोपका लागि जनता तड्पिनु नपर्ने जनाएका छन् । उनले अब अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमित रुपमा खोप आइरहने विश्वास दिलाएका हुन् ।
कार्यक्रममा बोल्दे उनले भनेका छन्, ‘भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।’ यस्तै, यस वर्षको अन्तिम ९सन् २०२१० भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना रहेको समेत उनको प्रस्ट पारेका छन् । उनले थप भनेका छन्, ‘अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ ।’
उनले स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवन रक्षामा सरकार सफल हुने विश्वास समेत व्यक्त गरेका छन् ।
स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन अनुरोध
नेपालमा जस्तो सस्तो उपचार कहीँ पनि नभएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन सम्बद्ध सबैमा अनुरोध गरेका छन् ।
उनले वीर अस्पतालले पुरानो प्रभाव र प्रतिष्ठालाई अझै माथि उठाउने विश्वास व्यक्त गर्दै चिकित्सा उपचार गरेर मात्रै नहुने भएकाले बिरामीप्रति गर्ने व्यवहार र मनोवैज्ञानिक उपचारतर्फ पनि ध्यानाकर्षण गराएका हुन् ।
‘अस्पताल भवन मात्रै नभई सेवाको मन्दिर हो’ भन्ने भावनाका साथ काम गर्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई सुझाव दिँदै अस्पताललाई पूर्ण क्षमतामा लैजान निर्देशन समेत दिएका छन् ।
यसैगरि, वीर अस्पतालको भवनलगायत विभिन्न परियोजना समयमै निर्माण सम्पन्न गरी राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने निर्माण कम्पनीलाई धन्यवाद दिदैँ उनले चिकित्सा सेवाको आवश्यकता बोध गरी यस क्षेत्रमा नयाँ थालनी गर्ने वीरशम्शेरप्रति पनि आदरभाव व्यक्त गरेका छन् ।
समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा देवनारायण शाहले नवनिर्मित सर्जिकल भवन ५०९ शय् याको रहने जानकारी गराए । सर्जिकल विधाको सेवा, शिक्षा र अनुसन्धानमा यसले नयाँ आयाम थप्ने उनको विश्वास छ । यस्तै, उनले भवन निर्माणका क्रममा दुर्घटनामा मृत्यु भएका दुई मजदूरका परिवारलाई अस्पतालबाट हुने सबै स्वास्थ्य सेवा उपलब्ध गराइने घोषणासमेत गरेका छन् ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रा. डा. जागेश्वर गौतमले अस्पतालबाट विशिष्टीकृत विशेषज्ञ सेवा दिइने जानकारी गराउँदै सरकारबाट थप रु पाँच अर्ब प्राप्त भए अस्पतालले सेवा निःशुल्क गर्न सक्ने पनि जानकारी दिए ।
समारोहमा भवन निर्माण गर्ने एक चिनियाँ र दुई नेपाली कम्पनी (जेडआइइसी–शर्मा रसुवा जेभीं) का प्रतिनिधि रमेश शर्माले सरकारले कोभिडका कारण छ महिना समयसीमा बढाएको भए उक्त समय पनि नलिई तोकिएको समय अगावै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको जानकारी दिए ।
भवन निर्माणको समय यही २०७८ कात्तिकसम्मको थियो । समारोहमा प्रधानमन्त्री ओलीले तोकिएको समयअगावै निर्माण सम्पन्न गरेकामा निर्माण कम्पनीलाई कदरपत्रसहित सम्मान गरेका छन् । रासस