नन्दकुमार न्यौपाने – वडाअध्यक्ष, महालक्ष्मी नगरपालिका–१


ADVERTISEMENT


महालक्ष्मी वडा नम्बर १ ले पछिल्लो समय कुन रणनीतिमा काम गरिरहेको छ ?


ADVERTISEMENT

# # #


वडा नम्बर १ ले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेको छ । विशेष गरेर भौतिक निर्माणमा सडक, ढल निकास, सामुदायिक भवन निर्माण तथा सांस्कृतिक सम्पदा संरक्षणका काम भइरहेका छन् । सामुदायिक भवन ढलान गरेर फिनिसिङको काम सकिएको छ । पहिले १ तला मात्र रहेको भवन अब सामान्य भोज, कार्यक्रम, गोष्ठी आदि क्रियाकलाप आफ्नै भवनमा गर्न सकिने गरी निर्माण भएको छ । विगतका वर्षमा वर्षाको समयमा माथि ४ नम्बर वडाबाट स्वभाविक रुपमा बगेर आउने पानीले हाम्रो वडामा डुबान हुन्थ्यो । अहिले ढल व्यवस्थापन गरेकाले यस वर्ष डुबान भएन । बाटो वर्षामा हिलो हुने हिउँदमा धूलो हुने भएकाले अप्ठ्यारो थियो । ढलान गरेर स्तरोन्नति गरेपछि अहिले धूलो हिलोबाट छुट्कारा मिलेको छ। चिनारीको रुपमा रहेको बौद्ध गुम्बा रंगरोगन गरेर सांस्कृतिक संरक्षणको काम भएको छ। कृष्ण प्रणाली मूलमन्दिरमा धार्मिक पर्यटनको हिसाबले महत्वपूर्ण भएकाले त्यसलाई धार्मिक पर्यटन संग्रालयका रुपमा विकास गरिएको छ ।

आगामी वर्षका योजनाहरु के छन् ?

वडा नम्बर १ महालक्ष्मी अति विकसित वडाका रुपमा सहरी क्षेत्रमा पर्छ । सामान्य कुराहरुमा भन्दा पनि प्रमुख काम सडककै रहेको छ । प्रमुख सहरलाई कालोपत्रे गर्ने, सडक निर्माण गर्दा बढी ढलानलाई प्राथमिकता दिने यसले दीगो विकासका हुने देखिन्छ । कालोपत्रमा गुणस्तर नहुने भएकाले ढलानलाई महत्व दिइएको छ । पिच गर्दा मेटेरियल अरबदेखि ल्याउनुपर्ने हुन्छ । तर, ढलान गर्दा स्थानीय स्तरमा सामान पाइने, काम गर्ने स्थानीय कामदार रहने भएकाले सहज र दीगो विकास हुने देखिन्छ। भित्री बाटाहरु वातावरणमैत्री गर्न सडकबाट पानी छिरेर जाने गरी ब्लक ओछ्याइरहेका छौँ । जमिन रसायो भने इनारमा पानी आउने र यो प्रकृतिमैत्री पनि हुन्छ । हामी दीगो र वातावरणमैत्री विकासमा लागेका छौँ । आगामी वर्षको योजनामा पनि यही कार्यक्रमलाई निरन्तरता दिइएको छ । आगामी आर्थिक वर्ष ८० प्रतिशत पक्की सडक बनाएर हिलो र धूलोधुँवा मुक्त वडाका रुपमा विकास गर्छौँ । सहज हिसाबले छिटो र छरितो सेवा प्रदान गर्ने गरी काम गरिरहेका छौँ ।

घोषणापत्र अनुसार के-के प्रतिवद्धता पूरा भए ? के के काम गर्न सकिएन ?

हामीले घोषणापत्रमा राखेका कामहरु सुरु गरेर केही सम्पन्न भइसकेका छन् भने बाँकी धेरै हदसम्म पूरा हुने चरणमा छन् । खानेपानीको काम गर्न सकिएन । तर, यसमा हामी सरसल्लाह गरिरहेका छौँ, निरन्तर प्रयास गरिरहेका छौँ, मेलम्चीसँग सहकार्यका लागि पहल गरिरहेका पनि छौँ । महालक्ष्मी नगरपालिकाले पाइपलाइन सर्भेको काम गरिसकेको छ । पाइपलान राख्ने कामका लागि हामीले पनि आफ्नो तर्फबाट पहल गरिरहेका छौँ, उहाँहरुले कोसिस गरिराख्नुभएको छ । वडालाई दिएको जिम्मेवारीअनुसार काम गरिरहेका छौँ । पहिले अस्थायी रुपमा गोदावरी खोलाबाट पानी ल्याइराखेकोमा अहिले त्यो अवरुद्ध छ । २०५४ मा म गाविस अध्यक्ष हुँदा त्यही योजनाअनुसार विविध बाधा अड्चनकाबीच चार वटा वडामा पानी ल्यायौँ । तर, बढ्दै गएको वस्ती र चुहावट तथा गोदावरीमा पनि बस्ती बाक्लिएका कारण त्यो अवरुद्ध भयो । अहिले हाम्रो लागि विकल्प भनेको मेलम्ची नै हो । यसका लागि पहल गरिरहेका छौँ ।

नगरपालिकासँगको सम्वन्वयन कस्तो छ ?

वडा भए पनि कामको हिसाबले नगरपालिका, प्रदेश र संघका स्थानीय काम हुन्छन् । सबैसँग सुमधुर सम्बन्ध छ । तर नीतिगत रुपमा भने तलका, स्थानीय सरकारहरु केही जान्दैनन्, गर्न सक्दैनन् भन्ने हेपाहा प्रवृत्ति संघबाट देखिन्छ । बाँकी रहेको काम भइरहेको छ । नगरपालिका र अन्य वडासँग समेत राम्रो सम्बन्ध छ ।

सेवामा जनतालाई सन्तुष्ट राख्ने गरी वडाले कस्तो तयारी गरेको छ ?

हाम्रोमा अहिले समस्या र चुनौती भनेको साँघुरा बाटाहरु हुन् । पहिले नै अव्यवस्थित बस्ती बसिसकेकाले यो मुख्य समस्या छ । योजनावद्ध बस्ती विकास भएपछि पुराना घर विस्तारै हट्दै गएर नयाँ संरचना बन्न थालेपछि विस्तारै व्यवस्थित बस्तीका रुपमा वडालाई विकास गरिरहेका छौँ । अर्को खानेपानीको समस्या हो । बाँकी जनतालाई दिने सेवामा हामीले फोन गरेको भरमा समेत गरेर सहज सजिलो सेवा दिइरहेका छौँ । विकास निर्माणका काम भइरहेका छन् ।

वडाका सेवालाई प्रविधिमैत्री बनाउने तयारी के छ ?

सहरी क्षेत्र भएकाले प्रविधिमा धेरै सेवा गएका छन्। तर नगरपालिकाले दिने सेवामा अहिलेसम्म विविध कारणले सेवा दिन सकेका छैनौँ । महालक्ष्मी नगरपालिकामा सहरीदेखि विकट वडासम्म छन् । एउटा वडाले मात्र दिएर हुँदैन । त्यसैले सबै वडाबाट दिइने सेवा प्रविधिमा लाने गरी तयारी गरिरहेका छौँ । यसको अभ्यास गरिरहेका छौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?

अब हाम्रो कार्यकालको समय पनि सकिँदैछ । वर्षा सकिने बित्तिकै भदौ असोजदेखि नै काम थालनी गर्छौँ । कोभिडका कारण एक वर्ष केही योजना प्रभावित भए । हामी सरसल्लाह गरेर कामका योजना बनाएका छौँ । सरसल्लाह टिपाइ पनि राखेका छौँ । सबै क्षेत्रमा मैले सल्लाह दिन वडाका नागरिकलाई अनुरोध गरिरहेकोमा यहाँबाट पनि केही त्यस्ता सुझाव सल्लाह भए मलाई प्रत्येक्ष वा वडाको प्रतिनिधिमार्फत सुझावका लागि अनुरोध गर्छुँ ।