एउटा अर्को दुःखद सडक दुर्घटनाको खबरले यसको जोखिम न्यूनीकरणबारे पुनः विमर्श आवश्यक देखिएको छ । राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस शनिबार बिहानै त्रिशूली नदीमा खस्दा ३१ जनाले ज्यान गुमाएका छन् भने अरू थुप्रै घाइते भएका छन् । सप्तरीको तिलाठी कोइली शोकमग्न छ ।


ADVERTISEMENT


राजधानी पुगेको खबर सुन्ने पर्खाइमा बसेका परिवारजनले आफन्त गुम्दाको बज्रपात सहनुपरेको छ । यो पछिल्लो सबैभन्दा ठूलो सडक दुर्घटना हो । यद्यपि यसै वर्ष पनि एकपछि अर्को सडक दुर्घटना भएका छन् । यसअघि डोटीको बोगाटन गाउँमा जिप दुर्घटना हुँदा नौ जनाको ज्यान गएको थियो भने चार घाइते भएका थिए । दसैं आसपास भएका दुर्घटनामा पनि थुप्रै सर्वसाधारण सिकार भए । यस्ता अनेक दृष्टान्त हेर्दा लाग्छ, दुर्घटना हाम्रो नियति झैं बनेको छ । यसमा चालक, व्यवसायी, सरकार सबै पक्षको गम्भीरता आवश्यक छ ।


ADVERTISEMENT

# # #


दुर्घटनाका बेलामा समीक्षा हुने, दुर्घटनाका कारण पत्ता लगाउन अध्ययन हुने अनि बिर्सिइने प्रचलन छ । कम्तीमा ती अध्ययनका निष्कर्षहरू प्रभावकारी ढंगले पछ्याउने हो भने यसखाले दुःखद खबरसँगको साक्षात्कार सायद कम हुन्थ्यो । विडम्बना के छ भने अध्ययन गरिन्छन्, कारणहरू पनि पत्ता लाग्छन् तर कार्यान्वयन हुँदैनन् । जसले गर्दा उही र उस्तै प्रकृतिका त्रुटि दोहोरिन्छन् र निर्दोषहरू अनाहकमा मारिन्छन् । पछिल्लो दुर्घटनाको प्रारम्भिक खबर हेर्दा पनि चालकको त्रुटि हुन सक्ने अनुमान गर्न सकिन्छ । रात्रिकालीन र लामो दूरीका बसचालक परिवर्तन गर्ने नियम बनाइएको छ, तर अनुगमन नहुँदा एउटै चालकको मात्रै प्रयोग हुँदा थकान र निद्राका कारण दुर्घटना बढेको तथ्य यसअघिका कयौं दृष्टान्तले पुष्टि भइसकेको छ ।

त्यसो त दुर्घटना दुःखद संयोग हो । मानवीय कमजोरी वा सडकको कमजोर अवस्थाका कारण हुनसक्ने दुर्घटना केकसरी र कुन बेला आउँछ भन्न सकिने विषय होइन । त्यसकारण हरपल यसमा सचेत हुनुको विकल्प हामीसँग छैन । यात्रु, चालक, व्यवसायी, सरकार सबैले दुर्घटना कम गराउन आआफ्नो ठाउँबाट सचेत र सजग हुन जरुरी छ । यसमा सबैभन्दा बढी सरकारी नियमन आवश्यक छ । क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएको छ कि रु सवारीको अवस्था केकस्तो छ रु लामो दूरीमा पनि एउटै चालक प्रयोग भएको छ कि रु सडकको अवस्था आदिको बारेमा नियमित नियमन हुनुपर्छ । सँगसँगै चालक र व्यवसायीहरू पनि जिम्मेवार हुनुपर्छ । यात्रहरूको सुरक्षित अवतरणको जिम्मेवारी बोकेका चालकमा त्यसप्रति संवेदनशीलता र जिम्मेवारीबोध हुन आवश्यक छ । – आजको अन्नपूर्णबाट