काठमाडौँ– रत्नपार्कको आकाशे पुलको तल्लो पर्खालमा कोभिड–१९ फ्रन्टलाइनरको सम्मान स्वरुप बनाइएको चित्र बुधबार महानगरले मेटाइदिएको छ ।


ADVERTISEMENT


चार जना कलाकार र तीन जना स्वयंसेवकको लगातर ६ दिनको मेहेनतपछि तयार भएको सो चित्रका लागि वडाको नभई कार्यपालिकाको अनुमति आवश्यक रहेको भन्दै मेटाइ दिएको हो ।


ADVERTISEMENT

# # #


कोरोना महामारीको समयमा अन्य सर्वसाधारण भने घरभित्रै रहिरहँदा जनताको सेवाका लागि बाहिर निस्कनेको मनोबल उच्च पार्दै उनीहरुका कार्यको उच्च प्रशंसा तथा सम्मान गर्दै बनाइएको सो चित्र महानगरले मेटिदिएर महानगरले फ्रन्टलाइनर, कला तथा मेहेनतकै अपमान गरेको चित्रको परिकल्पनाकार डोजाङ शेर्पा बताउँछन् ।

उसो त, उनले यसका लागि अनुमति पनि नलिएका होइनन् । यसका लागि उनलाई काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयले अनुमति दिएको थियो । यद्यपि यसका लागि वडाको नभई कार्यपालिकाको अनुमति आवश्यक पर्ने महानगरको भनाई छ ।

यस्तै, काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले वडाले वाल पेन्टिङका लागि अनुमति दिन नमिल्ने बताउँदै उनले भने, ‘काठमाडौं‌ महानगरपालिकाले वाल पेन्टिङका लागि कसैलाई पनि अनुमति दिएको छैन । वडालाई पनि अधिकार छैन । कार्यपालिका बैठकले निर्णय गरेर दिने निर्णय गरेको भए पाइन्थ्यो तर त्यसो गरिएको छैन । नियम र प्रक्रिया नपुगेकाले मेटाइएको हो ।’

सो चित्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी, पाइलट तथा शव व्यवस्थापन लगायतको इंगित चित्रसंगै ‘वि विल राइज एगेन, र टुगेदर वि क्यानसहित के टाउन’, लेखिएको थियो ।

सोहि पर्खालमा आफ्नै बजेटमा मेयर शाक्यले अर्काे चित्र कोर्ने

दोजाङ शेर्पाको कलाकार समूहले निःशुल्क तयार गरिएको चित्र मेटाइ दिएपछि एकाएक सर्वत्र आलोजनाको शिकार बनेको महानगरले सोहि स्थानमा अर्काे चित्र बनाउने निर्णय गरेका छन् ।

काठमाडौँका मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने निर्णय गरेको हो ।

चित्र मेटिएको स्थानमा काठमाडौं उपत्यकाको कलासंस्कृति झल्किने भित्ते चित्रहरु कोरिनेयोजना बनिसकेको प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए । उनका अनुसार, सोहि क्षेत्रमा मात्र नभई महानगरका सम्भावित अन्य स्थानहरुमा समेत ललितकलामा आधारित चित्रहरु कोरिने छन् । यसका लागि आगामी वर्षको बजेटमा रकम विनियोजन गर्ने महानगरको सम्पदा विभाग प्रमुख अर्चना शाक्यले बताइन् ।

 

‘महानगरको यस कदमबारे कार्यपालिकामा कुरा उठाइने’

यता कलाकार शेर्पा समूहलाई चित्रका लागि अनुमति दिने वडा नं २८ को वडाध्यक्षले व्यक्तिगत स्वार्थ, व्यापारिक फाइदाबाट टाढा रहेर फ्रन्टलाइनरको कार्यको प्रशंसा गरी उनीहरुको मनोबल उच्च पार्नका सम्मानप्रद र जागरण दिने खालको चित्रको प्रस्ताव आएपछि चित्र बनाउन सकिने गरी सिफारिश दिएको बताउँछन् ।

 

त्यत्रो दिन चुप लागेर बसेको महानगरले पूर्व सुचना नै मेटाइ दिएको कार्यप्रति असहति जनाउँदै उनले भने, ‘यसबारे म कार्यपालिका बैठकमा कुरा उठाउँछु ।’