काठमाडौँ – पशुपति क्षेत्रभित्र रहेको राममन्दिर परिसरको सतल पुनःनिर्माण हुने भएको छ ।


ADVERTISEMENT


आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले धार्मिक विधिअनुसार राममन्दिर क्षेत्रको सतलको शिलान्याश गरेका हुन् । ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी बाबाहरु बस्ने सतल निर्माण सुरु गरिएको पशुपति क्षेत्र बिकास कोषले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


शिलन्यासपछि मन्त्री अरगरियाले पशुपति क्षेत्रलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारको विरुद्धको आन्दोलनले मन्त्रीसम्म पुगेको भन्दै भ्रष्टाचार रोक्ने एकमात्र लक्ष्य हुने जिकिर गरे । मन्त्री अरगरियाले पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउने नभई व्यवस्थीत रुपमा राखिने प्रतिवद्धता जनाए ।

‘भ्रष्टाचारविरुद्धको आन्दोलनले नै म मन्त्रीसम्म पुगेको हुँ । मेरो एउटै उद्देश्य हुन्छ, न खान्छु, न खान दिन्छु ।’ उनले भने, ‘त्यतातिर पारदर्शी हुनुहोला । नत्र म जतिबेला पनि आफै आएर हेर्नसक्छु, चेक गर्नसक्छु ।’ सरकारी बजेटमा नभइ पशुपतिले सहयोगबाट मन्दिर निर्माण गर्न खोज्नु स्वागतयोग्य भएको र पुरातत्व विभागको नियमअनुसार मन्दिर निर्माण गर्न सुझाव दिए ।

त्यस्तै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रका भौतिक तथा अमूर्त सम्पदाहरुको संरक्षणमा विशेष ध्यान दिइने जिकिर गरे । उनले कोषमा देखिएका गुनासालाई सम्बोधन गर्ने जनाए ।

राममन्दिरसंगै नजिकका साधु बाबा बस्ने सतहहरुलाई कोषले पुननिर्माण गर्न लागेको हो । पुननिर्माणका लागि सो क्षेत्रबाट बाबालाई हटाइएको थियो । तर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन खोजिएको भन्दै विरोध भएको थियो ।