काठमाडौँ – पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालक, सहचालक र पम्पमा कार्यरत कर्मचारीलाई खोप दिन थालिएको छ । नेपाल पेट्रोलियम चालक संघले सोमवारदेखि ढुवानी ठप्प गरेपछि मंगलवार खोप दिने सम्झौता भएको हो


ADVERTISEMENT


खोप नपाएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने व्यवसायीहरुको चेतावनीपछि नेपाल आयल निगमले तत्काल १५ सय डोज खोप दिने सम्झौता गरेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको सक्रियतामा सरोकारवाला निकायसँग पहल गरी खोपको व्यवस्था गरिएको हो ।


ADVERTISEMENT

# # #


जसअनुसार मंगलवार नै २ सय ५० डोज खोप अमलेखगञ्जका लागि पठाइएको छ । ढुवानी साइकलअनुसार काठमाडौँ आएको बेला क्रमशः सबैलाई एक साताभित्र खोप लगाइसक्ने लक्ष्य निगमले राखेको छ । यस व्यवसायमा करिब २ हजार ४ सय व्यवसायी आवद्ध रहेकोमा तत्काल १५ सयलाई खोप लगाउन लागिएकोमा बाँकी ९ सयलाई अर्कोपटक लगाउने सम्झौता भएको छ ।

संघले सोमवारदेखि खोप नपाएसम्म ढुवानी नगर्ने भन्दै इन्धनको ढुवानी रोकेको थियो । आन्दोलनलाई अझ सशक्त बनाउन बुधवारदेखि पेट्रोल पम्प पनि बन्द गर्ने चेतावनी संघले दिएको थियो ।

तर निगमसँगको सम्झौतापछि मंगलवार रातिदेखि नै ढुवानी शुरु गरिएको नेपाल पेट्रोलियम चालक संघ अमलेखगञ्जका अध्यक्ष राजन केसीले जानकारी दिए ।