काठमाण्डौं –  जाडो छल्न बर्सेनि कात्तिक पहिलो सातादेखि मुस्ताङी उँधौली झर्छन् । अन्य जिल्ला र भारतसम्मै पुग्छन् । घरहरूमा ताला मारिन्छ, एक-दुई जना अशक्त र कुरुवा बसे पनि हिँड्न सक्नेहरू अन्यत्र जान्छन् । चिसो बढ्न सुरु भए पनि यसपटक भोट दिनुपर्ने भएकाले जिल्लावासी बाहिर जान रोकिएका छन् । बरु अन्यत्र रहेका उम्मेदवारका आफन्त पनि हार–जितमा आफ्नो मतले प्रभाव पार्ने भन्दै जिल्ला आउन थालेका छन् ।


ADVERTISEMENT


सबै दलले आफ्ना निकटका कार्यकर्ता र मतदातालाई मंसिर १० अघि जिल्ला नछाड्न आग्रह गरेपछि मुस्ताङीको जाडो छल्ने उँधौली परम्परामा केही फेरबदल भएको छ । जाडो छल्न यहाँका बासिन्दा असोजदेखि नै तयारी थाल्ने र कात्तिक महिनाभरि राजधानीलगायत बेनी, पोखरा, बुटवल र भारतका विभिन्न सहरमा जाने परम्परा छ । तर, अहिले प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थानीयलाई जिल्ला बाहिर जान एक महिना ढिलो हुने भएको छ ।


ADVERTISEMENT

# # #


सबै पार्टीले यहाँका गाउँगाउँ पुगेर चुनावअघि कहीं नजान उर्दी गरेको स्थानीयले बताए । उम्मेदवार र दलहरूको आग्रहका कारण जिल्लावासी मंसिर १० को मतदान समयको पर्खाइमा छन् । गत आइतबार उम्मेदवारी निश्चित भए पनि अधिकांशले गत महिनादेखि नै चुनाव प्रचार थालेका थिए ।

जाडो छल्न मुस्ताङ बाहिर जाने र यही बेलामा सानोतिनो व्यापार गर्नेहरू अहिले चुनावमा भोट माग्न र आफ्ना उम्मेदवारलाई जिताउन प्रचारमा जुटेका छन् ।

तालमेल गरेका र उम्मेदवार भएका दलहरूका नेताहरूले हरेक गाउँका अगुवालाई फोन गरेर भोट नदिई कसैलाई पनि बाहिर जान नदिनु भनिसकेका छन् । गाउँका अगुवा वा मुखियाले भनेको सबैले मान्ने यहाँको पुरानो चलन हो । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा प्रजातान्त्रिक र राप्रपाका जिल्ला नेताले आफ्ना मातहतका गाउँले अगुवालाई चुनाव प्रचारमा जुट्न र जिल्ला छाडेर नजान आग्रह गरेपछि अहिले मुस्ताङलाई चुनावले छोपेको छ ।

मंसिर १० सम्म अत्यधिक जाडो भएमा उपल्लो मुस्ताङका बासिन्दालाई जोमसोममै राख्ने तयारी आ–आफ्नो ढंगले गर्ने बारेमा पार्टीहरूबीच छलफल चलेको छ । बरु जोमसोम, मार्फा वा तल्लो गाउँहरूमा राख्ने प्रबन्ध गर्ने तर, जिल्ला बाहिर जानबाट चुनावसम्म रोक्नुपर्ने पार्टी नेताहरूको सल्लाह छ । थोरै मतदाता, त्यही पनि केही बाहिर जानेबित्तिकै भोट निकै कम खस्ने भएकाले दलहरूले सबैलाई सचेत गराइरहेका हुन् । मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् । वैशाख ३१ को स्थानीय तह चुनावमा ८ हजार ४ सय ६१ जना मतदाता थिए । थप मतदाता नामावली संकलन कार्य अघि बढाएपछि ९ सय ६६ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले बताए । – आजको कान्तिपुरबाट