रसुवा– पर्यटकीय क्षेत्र लाङ्टाङको स्वास्थ्यचौकीमा कोभिड १९ को प्रारम्भिक परीक्षण शुरु भएको छ ।


ADVERTISEMENT


हिउँद यामको अधिकांश समय हुने हिमपातको चिसोपनले सामान्य रूघाखोकी लाग्नासाथ कोरोना सङ्क्रमणकै आशङ्का बढिरहेको वर्तमान अवस्थामा गोसाइँकुण्ड गाउँपालिकाले गाउँघरमै एन्टिजेन परीक्षण गराउने व्यवस्था मिलाएपछि लाङ्टाङका बासिन्दामा उत्साह बढेको छ ।


ADVERTISEMENT

# # #


एन्टिजेन परीक्षणका लागि आफूले धुञ्चेस्थित जिल्ला अस्पतालबाट तालीम लिएको जनाउँदै लाङ्टाङ स्वास्थ्यचौकीका प्रमुख खम्बु बोहोराले कुनै पनि प्राथमिक उपचारमा आफू २४ सै घण्टा तयार रहेको बताए । उच्च क्षेत्रमा बसोबास गर्ने हिमाली बासिन्दा एवं आगन्तुक पर्यटकलाई पर्न सक्ने स्वास्थ्य समस्या स्थानीयस्तरमै समाधान गर्न लाङ्टाङ स्वास्थ्यचौकीबाट एन्टिजेन प्रविधिद्वारा कोरोना परीक्षणका साथै अक्सिजन समेतको व्यवस्थापन भएको छ ।

लाङ्टाङ क्षेत्रमा पुग्ने पर्यटकलाई पदयात्रामा हुन सक्ने श्वासप्रश्वासको समस्या स्थानीयस्तरमै समाधान गर्न यस कार्यले सहज भएको पर्यटन व्यवसायी तेम्बा लामाको भनाई छ । रासस