काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री ओलीले आफू नजिकका केही विश्वासपात्रलाई सरकारबाट बाहिर पुर्‍याएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई मन्त्रीबाट हटाएका छन् । ओलीसँगै उपप्रधानमन्त्री र रक्षामन्त्रीका रुपमा सरकारमा गएका पोखरेल केही महिनायता विनाविभागीय उपप्रधानमन्त्री थिए । उनी प्रधानमन्त्रीको कार्यालयको जिम्मेवारीमा थिए ।


ADVERTISEMENT

# # #


यस्तै प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र प्रदीप ज्ञवालीलाई समेत मन्त्रिपरिषद्बाट अलग्याएका छन् । ज्ञवालीले ओली सरकारमा तीन वर्ष बढी परराष्ट्रमन्त्रीका रुपमा काम गरे । यस्तै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि सरकारबाट बाहिरिएका छन् । उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी (हाल जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सामान्य प्रशासन मन्त्रीका रुपमा सरकारमा गएका त्रिपाठीले पाँच महिनायता स्वास्थ्य मन्त्रालय सम्हालिरहेका थिए ।

यस्तै सरकारबाट बाहिरिनेमा पार्वत गुरुङ पनि रहेका छन् । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रीका रुपमा सरकारमा सहभागी भएका गुरुङ पछिल्लो समय सूचना तथा सञ्चार प्रविधि मन्त्री र सरकारको प्रवक्ताको जिम्मेवारीमा थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको पनि मन्त्री पद खोसिएको छ । ओली सरकारमा कानुनमन्त्रीका रुपमा प्रवेश गरेका ढकालले बीचमा स्वास्थ्य मन्त्रालय पनि सम्हालेका थिए । पछिल्लो ५ महिनायता उनी पर्यटन मन्त्री थिए ।

यस्तै डा. शिभमाया तुम्बाहाङ्फेको पनि मन्त्री पद खुस्किएको छ । विघटित प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कारको मुद्दामा परी पद मुक्त भएपछि तत्कालीन सत्तारुढ नेकपाले उपसभामुख रहेकी तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएको थियो । पछिल्लो समय उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका रुपमा काम गरिरहेकी थिइन् ।

महिला बालबालिका एवम् समाज कल्याणमन्त्री जुली कुमारी महतोको पनि मन्त्री पद् खोसिएको छ । पाँच महिना अघि मन्त्री बनेकी महतोको बहिर्गमनसँगै उनका पति रघुविर महाशेठले उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्रीका रुपमा सरकारमा ‘इन्ट्री’ गरेका छन् ।

मन्त्री पद गुमाउने अर्का व्यक्ति हुन् प्रेम आले । प्रधानमन्त्रीले पहिलो पटक गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रेम आले वन तथा वातावरण मन्त्रीका रुपमा सरकारमा गएका थिए । उनले ५ महिनादेखि उक्त मन्त्रालय हेरिरहेका थिए ।

यस्तै सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाको पद पनि गुमेको छ । ठगुन्ना ५ महिनादेखि उक्त मन्त्रालयको जिम्मेवारीमा थिए ।