काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीबारे त्रुटि सच्चाउन विश्व समुदायमाझ आग्रह गरेका छन् । गौतम बुद्धको जन्मस्थान लुम्बिनी भएको र बुद्धत्वको मुहान पनि त्यही भएको बताउँदै उनले अझैँ कतिपय मुलुकका पाठ्यक्रममा गलत तथ्य समावेश गरिएकोमा सच्चाउन आग्रह गरेका हुन् ।


ADVERTISEMENT


भारतले बुद्धको जन्म आफ्नो मुलुकमा भएको दाबी गर्दै आएपछि भारतका र अन्य केही देशका पाठ्यक्रममा सोहीअनुसार पढाइ हुने गरेको छ । प्रधानमन्त्री ओलीले आज २५ सय ६५ औँ बुद्धजयन्तीको शुभकामना दिँदै वैज्ञानिक युगमा पनि बुद्धबारे गलत तथ्य नसच्चिएको भन्दै सूचना तथा प्रविधिको युगमा पनि त्रुटि कायम राखेर बालबालिकालाई सोहीअनुसार ज्ञान दिनु वाञ्छनीय नभएको बताएका छन् ।


ADVERTISEMENT

# # #


नेपाल बुद्ध, बुद्धत्व, बुद्धवाद र बुद्ध दर्शनको उद्गमस्थल तथा शान्तिको सन्देश छर्ने थलो भएकोमा कतिपय धार्मिक असहिष्णुता र धार्मिक संकीर्णताले बुद्धदर्शनका विरुद्ध अनेक क्रियाकलाप भएको र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिएको उनले बताए । तथापि, बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न नसक्ने भएकाले नमरेको उनको भनाइ छ ।