दमौली– गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ ।


ADVERTISEMENT


कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुल निर्माणको कामलाई गति दिइएको हो ।


ADVERTISEMENT

# # #


तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि बन्न लागेको पुलको कामलाई निषेधाज्ञाकै अवधिमा अगाडि बढाइएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी योजनाबाट सञ्चालन हुने विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएको छ ।

वर्षाअगावै पुलको बीचको पिल्लरको भाग सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उनले बताए । ‘वर्षा लागेर नदी बढेपछि काम गर्न सकिँदैन, वर्षा अगावै बीचको काम सम्पन्न गर्ने सके सजिलो हुन्छ । नदीको भागमा चाँही हिउँद लागेपछि शुरु गर्ने तयारी गरेका छौँ’, सिग्देलले भने । तनहुँतर्फको फाउण्डेशनको काम सकिए पनि पाल्पातर्फको काम हुन बाँकी रहेको उनको भनाई छ ।

दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौँस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ । हालसम्मको पुलको ३० प्रतिशत काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद १५ महिना बाँकी छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो ।

पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण भइरहेको छ । पुल निर्माणको अनुगमनका लागि इन्जिनियर खगेन्द्र जोशी, आशिष नेपाल, निर्माण कम्पनीका इन्जिनियर यादव बस्याल र सुदर्शन कोइराला कार्यस्थलमा खटिएका छन् । ।

डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत निर्माण हुन लागेको हो । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् ।

यहाँ पुल निर्माण शुरु भएपछि स्थानीयवासी पनि खुशी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहजरूपमा आवातजावात गर्न सकिन्छ । मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुनेछन् । रासस