लमजुङ– यहाँ निर्माणाधीन राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


बेँसीशहर नगरपालिका–५ नाल्माफेदी र सुन्दरबजार नगरपालिका–११ ठूलोश्वाँरा जोड्ने राम्चेखोला मोटरेवल पुलको काम १० प्रतिशत मात्र बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


निर्माणाधीन राम्चेखोला मोटरेवल पुलको हालसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख इन्जिनीयर सुमन गिरीले बताएका छन् । आरसिसीसहितको पक्की मोटरेवल पुलको कन्सट्रक्शनतर्फको सबै काम सकिएको छ भने यसको फिनिसिङको काम मात्रै बाँकी रहेको उनको भनाइ छ । पुल यस आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी तीव्र रुपमा निर्माण कार्य भइरहेको छ ।

चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका अन्य योजनाभन्दा सो पुल छिटो सम्पन्न हुने पूर्वाधार कार्यालयले जनाएको छ । पच्चीस मिटर लम्बाइ रहेको यस पुलको विसं २०७८ पुस ३० गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ असार ३० गते निर्माण सम्झौता भएको थियो । विसं २०७७ पुस महिनाबाटै पुल निर्माण कार्य थालिएको थियो ।

गण्डकी प्रदेश सरकारको रु. चार करोड छ लाख ५० हजार ७१९ लागत स्टमेट रहेको उक्त योजनाको पराजुली कन्सट्रक्शन भोर्लेटारसँग रु दुई करोड ६० लाख ७४ हजार ७१९/८४ मा निर्माण सम्झौता भएर निर्माण कार्य शुरु गरिएको पूर्वाधार कार्यालयका प्रमुख इन्जिनीयर गिरीको भनाइ छ । रासस