आर्सनलसँग ५–२ ले लज्जास्पद हारको सामना गरेपछि एभर्टनका प्रशिक्षक रोनाल्ड कोएम्यान बर्खास्तीमा परेका छन् । इंग्लिस प्रिमियरसिप लिगको एभर्टन रेलिगेसन जोनमा परेपछि रोनाल्डले आफ्नो पद गुमाएका हुन् । प्रशिक्षक रोनाल्डले पछिल्लो नौ खेलमा एभर्टनलाई दुई खेलमा मात्र जित दिलाएका छन् । सन् २००५–०६ पछि एभर्टनले प्रिमियर लिगमा खराब सुरुवात गरेको यसपटक नै हो ।


ADVERTISEMENT


-दोस्रो सफल प्रशिक्षक
सन् १९९० पछि एभर्टनमा आठ प्रशिक्षक बनेका छन् । जसमध्ये रोनाल्ड दोस्रो सर्वाधिक सफल प्रशिक्षक हुन् । उनले एभर्टनलाई १६ महिना प्रशिक्षण गराउँदा ४० प्रतिशत जित दिलाएका छन् । रोनाल्डले डेढ वर्षमा ४७ खेलमा प्रशिक्षण गरेका छन् । उनले प्रतिखेलमा एभर्टनलाई १।४७ अंक दिलाएका छन् । १७ वर्षको अवधिमा एभर्टनका सर्वाधिक सफल प्रशिक्षकका रूपमा डेभिड मोयर्सलाई लिने गरिन्छ । सन् २००२ देखि ०१३ सम्म लगातार चार सय २७ खेलमा प्रशिक्षण गरेका मोयर्सले एभर्टनलाई ४१ प्रतिशत जित दिलाए । मिक वाल्कर असफल प्रशिक्षकका रूपमा गनिएका छन् । उनले १९९४ मा ३१ खेलमा १९ प्रतिशत मात्र जित रेकर्ड बनाए ।


ADVERTISEMENT

# # #


-गत वर्ष सातौँ स्थानमा
एभर्टनका अध्यक्ष विल केनराइट र निर्देशक फर्हाद मोसिरीले रोनाल्डको कार्यप्रति धन्यवाद दिँदै बर्खास्त गरेको जनाएका छन् । ‘एभर्टनलाई अहिलेसम्म दिएको योगदानको हामी कदर गछौँ र अब उहाँको नयाँ भविष्यको कामना गछौँ,’ विल र फर्हादले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ । गत सिजन रोनाल्डकै सक्रियतामा एभर्टन सातौँ स्थानमा रहेको विज्ञप्तिमा भनिएको छ ।

-खर्चिला प्रशिक्षक
सन् २०१६ मा रोनाल्ड साउथ ह्याम्टनबाट पाँच करोड ४० लाख पाउन्डमा एभर्टनसँग आबद्ध भएका थिए । प्रिमियरसिप लिगमा रोनाल्डलाई दिइएको रकम बढी मानिएको छ । गत वर्ष एभर्टनलाई रामो नतिजा दिलाए पनि यसपटक भने उनले त्यसलाई दोहोर्‍याउन सकेनन् । रोनाल्डले यस सिजनमा १३ खेलबाट केवल दुई खेलमा स्पष्ट ६ अंक दिलाए । यता समर्थकहरूले रोनाल्डमाथि अन्याय भएको बताएका छन् । रोनाल्ड समर्थित समर्थकहरूले एभर्टनको गुडनेस पार्कमा नाराबाजी गरेका छन् ।

-प्रशिक्षक रोनाल्डको दाबी
व्यवस्थापकले अचानक बर्खास्त गरेपछि प्रशिक्षक रोनाल्डले सिजनको अन्त्यसम्म एभर्टनलाई राम्रो स्थानमा पुर्‍याउन सक्ने दाबी गरेका छन् । ‘मलाई अझै विश्वास छ, सिजनको अन्त्यसम्म एभर्टन निकै राम्रो स्थानमा हुनेछ,’ प्रशिक्षक रोनाल्डले भने, ‘अहिले पनि केही बिग्रेको छैन, तर यो बोर्डको निर्णय हो, यसलाई स्वीकार गर्नुपर्छ ।’ प्रिमियर लिग चलिरहँदा बर्खास्तीमा पर्ने रोनाल्ड तेस्रो प्रशिक्षक हुन् । यसै सिजनमा लेस्टर र क्रिस्टल प्यालेजले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरेका छन् । – नयाँ पत्रीकाबाट