पोखरा : इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन । सँगै रहेका श्रवण पुनको घाइते अवस्थामा उपचार भइरहेको छ ।
नदीपुरका पिजन मुसलधारे वर्षासँगै नालीमा आएको भेलमा बगेका हुन् । उनको मोटरसाइकल भने केआइसिंह पुलनजिक फेला परेको थियो । ‘नालीको ढक्कन उघारेर हेर्दा मोटरसाइकल फेला पर्‍यो, मान्छे भेटिएन’, पोखरा(१६) का वडाध्यक्ष जीवन आचार्यले भने । प्रहरीले प्राविधिकको सहयोगमा मोटरसाइकल बाहिर निकालेको थियो । बेपत्ताको आइतबार र सोमबार प्रहरीले खोजी गरेको थियो।


ADVERTISEMENT


वडाध्यक्ष आचार्यका अनुसार लामाचौरभन्दा तीन किलोमिटर टाढाको पुरन्चौर भुनपुरे गाउँदेखिको पानी आउने नालीमा पुनद्वय खसेका थिए । ‘पानी पर्दा त्यो नाली नदीजस्तो हुन्थ्यो’, उनले भने, ‘१२-१५ वर्षअघि नै सडक विभागले बनाएको नालीमाथि ढक्कन (स्ल्याब) थिएन ।’ केही तलबाट भने ढक्कनले छोपिएको हुँदा केआइसिंह पुलनजिक उघार्न मिल्ने ढक्कन लगाएको ठाउँ खोलेर हेर्दा मोटरसाइकल भेटिएको उनले सुनाए ।
पोखराका नाली सबै असुरक्षित छन् । कि साँघुरा र साना छन् कि त खुला छन् । लामाचौरमा असुरक्षाकै कारण त्यो दुर्घटना भयो ।’( मानबहादुर जीसी, मेयर, पोखरा,लेखनाथ महानगरपालिका)
नाली सेती नदीमा मिसिएकाले बेपत्ताको खोजी कार्य कठिन बनेको छ । नालीमा ढक्कन भए पुन बेपत्ता हुँदैनथे । बाटुलेचौरको नालीमा पनि ढक्कन नहुँदा गत वर्ष गण्डकी बोर्डिङ स्कुलका प्रशासक कृष्ण थापा खसेर बगेका थिए । उनको भोलिपल्ट शव फेला परेको थियो ।
यस वर्ष राजधानीको सामाखुसीमा एक बालिका नालीमा खसेर बगेको समाचारले प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गरायो । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशनसमेत दिए । पोखरामा पुन र थापा मात्र होइन, अरूले पनि नालीमा खसेर ज्यान गुमाइसकेका छन् । असोज १ गते बाटुलेचौरका थापाको ज्यान गएको राति नै बिरौटामा स्याङ्जाका गंगाप्रसाद सुवेदी बगेर बिते ।
पोहोर भदौ २२ गते पोखरा-२८ का शूरवीर जीसी मालपोत कार्यालयनजिकै मोटरसाइकलसहित बगेका थिए । उनको पनि निधन भएको थियो । त्यस्तै, सिद्धार्थ चोकमा एक महिला हिँड्दा-हिँड्दै नालीमा खसेकी थिइन् । पछि उनको शव फिर्के खोलामा भेटिएको थियो । मालेपाटनस्थित नहरमा बगेर एक बच्चाको ज्यान गएको थियो । सिसुवाकी शकुन्तला बाँस्तोलाका ९ वर्षीय छोराको पनि नहरकै पानीले ज्यान लियो ।
शनिबार रातिको घटनापछि पोखरा-लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसी स्थलगत निरीक्षणमा पुगे । त्यहाँको नालीमाथि ढक्कन राख्ने योजना मेयर जीसीले सुनाए । स्थानीय जनसहभागितामा ढक्कन राख्ने र नालीमा जम्मा हुने पानीलाई धेरै ठाउँबाट निकास निकाल्ने उनको भनाइ छ ।
‘पोखराका नालीहरू सबै असुरक्षित छन् । कि साँघुरा र साना छन् कि त खुला छन्’, उनले भने, ‘लामाचौरमा असुरक्षाकै कारण त्यो दुर्घटना भयो । त्यहाँ तत्काल सुरक्षित बनाइनेछ । अन्त सुरक्षाले नपुग्ने छ, नयाँ ढंगले नै नाली निर्माण गर्नुपर्छ ।’ – आजको अन्नपूर्णबाट


ADVERTISEMENT

# # #