झापा– जिल्लाको निजी अस्पतालहरुले धमाधम कोभिड–१९ का सङ्क्रमितहरुको उपचारका लागि आइसियूसहितका कक्षहरु छुट्याएका छन् ।
सङ्कटको घडीमा सरकारलाई सहयोग गर्ने र कोभिडका सङ्क्रमितहरुको सेवा गर्ने उद्देश्यले चार निजी अस्पतालले २७५ शय्याको व्यवस्था गरेका हुन् ।
विर्तामोडस्थित विएण्डसी अस्पतालले २०० शय्या, विर्तासिटी अस्पतालले २५ शय्या, मनमोहन सामुदायिक अस्पतालले १० शय्या र दमकस्थित लाइफलाइन अस्पतालले ३० शय्या गरी कूल २७५ शय्याको व्यवस्था गरेका छन् । हाल विएण्डसी अस्पताल र विर्तासिटीले कोभिड सङ्क्रमितका उपचार गरिरहेका छन् भने मनमोहन र लाइफलाइनले पनि तयारी शुरु गरेका छन् । जिल्लामा सङ्क्रमितको सबैभन्दा बढी उपचार गर्ने विएण्डसी अस्पताल रहेको छ ।
दमकको सबैभन्दा पुरानो निजी अस्पताल लाइफलाइन हो । अस्पतालको चौथो ब्लकमा आइतबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. सूर्यनारायण शाहका अनुसार, विशेषज्ञ सेवासहित कोभिडका बिरामीहरुले यहाँ सहज रुपमा सेवा पाउनेछन् ।
अस्पतालका अध्यक्ष डा मुक्तिनाथ भट्टराई शय्या क्षमताअनुसार कसैलाई विभेद् नगरी अस्पतालमा कोभिडका बिरामीहरुलाई भर्ना लिइने बताउँछन्। यो विषम परिस्थितिमा यस क्षेत्रका कोभिडका बिरामीहरुलाई सेवा दिएर ज्यान बचाउन सकिए हुन्थ्यो भन्ने लागेर उपचार केन्द्रको रुपमा नै कोभिड वार्ड शुरु गरेको उनको भनाई छ ।