भादगाउँ– नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा वृद्धि भएसँगै यसको रोकथाम र नियन्त्रणका लागि काठमाण्डौँ उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । योसँगै सडक दुर्घटना, झैझगडा, चोरी डकैतीलगायत सार्वजनिक अपराधका घटनामा कमी आएको छ ।


ADVERTISEMENT


सामाजिक अपराधका घटनामा कमी आएसँगै नेपाल प्रहरी अहिले फरक भूमिकामा सक्रिय भइरहेको छ । शान्तिसुरक्षामा अहोरात्र खटिनुपर्ने प्रहरी अहिले अस्पतालका लागि अक्सिजन ग्यास र सिलिन्डरको खोजी तथा व्यवस्थापनमा जुटेको छ ।


ADVERTISEMENT

# # #


निषेधाज्ञासँगै सामाजिक अपराधका घटनामा कमी आए पनि प्रहरी अहिले निषेधाज्ञालाई कार्यान्वयन गराउन र पछिल्लो समय कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा देखिएको अक्सिजन र सिलिन्डरको अभावलाई ध्यान दिँदै त्यसको व्यवस्थापनमा जुटेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले बताइन् ।

‘अहिलेको अवस्थामा नेपाल प्रहरीको पहिलो दायित्व निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउनु हो, त्यससँगै जिल्लामा अक्सिजनको अभाव हुन थालेको र अक्सिजनको अभावकै कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको खबरपछि प्रहरीले अक्सिजन सिलिन्डरको खोजी गर्ने र आवश्यकताअनुसार अस्पतालमा पुर्‍याउने कार्य गर्दै आएको छ’, प्रहरी उपरीक्षक थापाले भनिन् ।

भक्तपुर प्रहरीले हालसम्म २० अक्सिजनसहितका र ७५ खाली गरी ९५ वटा सिलिन्डर विभिन्न अस्पताललाई प्रदान गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीको भनाई छ ।

परिसरले मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर ईन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पताललाई पाँच र ललितपुरको अल्का अस्पताललाई पनि तीन वटा अक्सिजनसहितका सिलिण्डर उपलब्ध गराएको उनले बताए । त्यस्तै भक्तपुर अस्पताललाई ५० र मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ खाली सिलिण्डर प्रदान गरिएको छ ।

ती सिलिन्डर हाल सञ्चालन नभएका उद्योग कलकारखाना, वर्कशप, कवाडी सङ्कलन केन्द्र, जिमखानालगायत क्षेत्रबाट सङ्कलन गरिएको प्रहरी उपरीक्षक थापाले जनाइन् । उनी भन्छिन्, ‘ती सिलिन्डर हामीले अस्पतालहरुलाई पछि फिर्ता गर्नेगरी अस्पताललाई दिएका छौँ, त्यहाँबाट फिर्ता आएपछि जहाँबाट हामीले सङ्कलन गरेका हौँ त्यहाँ फिर्ता गर्छौं ।’

परिसरमा हाल ३७ खाली सिलिन्डर मौज्दात रहेको जानकारी दिँदै प्रहरी उपरीक्षक थापाले कुनै अस्पताललाई आवश्यक परे सम्पर्क गर्न आग्रह गरिन् । आवश्यकताअनुसार सिलिन्डरको व्यवस्थापनको कार्यलाई निरन्तरता दिनेमा उनको जोड छ । रासस