बनेपा– कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ ।


ADVERTISEMENT


पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो ।


ADVERTISEMENT

# # #


नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेको र मठमन्दिरमा दर्शनार्थीको भिडले कोरोना सङ्क्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकाले नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिको यही वैशाख १० गते बसेको निर्णयानुसार सर्वसाधारणलाई दर्शन र पूजापाठ गर्न बन्द गरिएको बताए।

उनका अनुसार, मन्दिरमा नियमित नित्य पूजा भने निरन्तर चल्नेछ । पञ्लाञ्चोक भगवती मन्दिरलगायत नगरपालिकाले नगरभित्रका अन्य मठमन्दिरमा समेत सर्वसाधारणलाई अर्को सूचना नभएसम्मका लागि पूजा र दर्शन गर्न बन्द गरेको छ ।

यसैबीच नगरभित्रका सबै विद्यालय आइतबारदेखि एक हप्ताका लागि बन्द गरिएको छ । सञ्चालन हुन लागेका परीक्षा भने स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी सञ्चालन हुने तयारी भइरहेको नगर प्रमुख खरेलले बताए ।

नगरपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै पाँचखाल समाजकल्याणमा अक्सिजनसहितको १५ शैय्याको आइसोलेसन तयारी अवस्थामा राखेको उनले जानकारी दिए । रासस