काठमाडौँ – सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारबाही गरेको उल्लेख गर्दै झलनाथ–माधव समूहका चार नेताले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ अर्को दिनलाई सरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए तापनि समयाभावका कारण ‘हेर्न नभ्याउने’ भएपछि सुनुवाइ अर्को दिनलाई सरेको हो ।


ADVERTISEMENT


निर्वाचन आयोग, एमाले अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाई आज पार्टीका वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टीको कानूनविपरीत कारबाही भएको हुँदा बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा संवैधानिक आयोगमा अभिलेखीकरण भएको दलको संरचना, पदाधिकारी र विधान दलको अन्तिम विवरण भएका उल्लेख गर्दै भनिएको छ, “त्यस विवरण विपरीतका सबै काम कारबाही र निर्णयहरू गैरसंवैधानिक, गैरकानूनी र पार्टी विधान विपरीत हुने देखिन्छ, प्रधानमन्त्री ओलीले गरेको कथित कारबाही र त्यसअघिको स्पष्टीकरणसमेत स्वतः गैरकानूनी भएकाले त्यस्ता सबै काम कारबाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्ने देखिन्छ ।”


ADVERTISEMENT

# # #


पार्टीका अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरलले गत फागुन २८ गते करीब एकै प्रकारको ‘कथित स्पष्टीकरण’ माग गरेको र यसरी सोधिएको स्पष्टीकरणको जवाफ दिएकामा कुनै वास्ता नगरी त्यसको मूल्याङ्कनबारे कमिटीमा छलफल एवं परामर्शसमेत नगरी गत चैत १६ गतेदेखि पार्टीको साधारण सदस्यबाट छ महिनाका लागि निलम्बन गरिएको कार्य गैरसंवैधानिक भएको निवेदनमा छ ।

सर्वोच्च अदालतमा सामूहिक रिट निवेदन बुधबार पेश भएको भए तापनि आज दर्ता भएको छ भने यसको सुनुवाइ आइतबारका लागि तय भएको छ । रिट निवेदनमा आफूहरूमाथि गरिएको कारबाही अवैधानिक भएको हुँदा अन्तरिम आदेशले बदर गर्नुपर्ने मागसमेत गरिएको छ । रिट निवेदनमा नेपाल पक्षले दायर गरेको रिटमा नेपालसहित २७ जनामाथि गरिएको कथित कारबाहीबमोजिम राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम आयोग र संसद् सचिवालयमा सूचना दिन लागिएकाले त्यस प्रकारका काम कारबाही रोक्न आवश्यक भएको उल्लेख छ ।

पार्टीको विधानबमोजिम सम्मेलन आयोजक कमिटी बनाउने र सो हैसियतमा महाधिवेशनबाट निर्वाचित पद एवं हैसियतलाई समाप्त गर्ने अधिकार कोही कसैलाई नभएको र कसैलाई नभएको हैसियत र अधिकार प्रयोग गरी गरिएका काम कारबाहीहरू प्रारम्भदेखि नै बदरयोग्य हुने रिटमा छ । सर्वोच्च अदालतको फैसला गत फागुन २३ को फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नकेपा) ऋषि कट्टेलको ठहर भएपछि एमाले २०७५ जेठ ३ को पूर्वअवस्थामा फर्केको हुँदा त्यसबखत निर्वाचन आयोगको अभिलेखमा कायम नेकपा (एमाले)को केन्द्रीय कमिटी र पदाधिकारी सङ्ख्या यथावत् रहेको दाबी रिटमा छ ।