काठमाडौँ– नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमति भए लगत्तै कांग्रेसले लोकतान्त्रिक गठबन्धनको पहल थाल्ने निर्णय गरेको थियो । पहिलो चरण अन्तर्गत मंसिर १० मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । जसमा माओवादी केन्द्र र एमालेले गठबन्धन गरेर उम्मेद्वारी दर्ता गराइरहँदा लोकतान्त्रिक गठबन्धनको बारेमा नेपाली कांग्रेस भने मौन देखिन्छ ।


ADVERTISEMENT


मधेसवादी दल राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झा ले भने लोकतान्त्रिक गठबन्धनका लागि आफू अहिले पनि तयार रहेको बताएका छन् । गठबन्धनलाई निष्कर्षमा पुर्याउने नेपाली कांग्रेसको प्रमुख हात रहेको बताउँदै सह–महामन्त्री झाले लोकतान्त्रिक गठबन्धन अहिलेसम्म नहुनु दुर्भाग्य रहेको बताए । हिमालय पोष्टसंग कुराकानी गर्दै उनले भने, “लोकबतान्त्रिक गठबन्धनका लागि नेपाली कांग्रेसले नै अगुवाई गर्नु पर्ने भएपनि उसको कार्य शिथिलताका कारणले गर्दा अहिलेसम्म नहुनु दुर्भाग्य हो ।” लोकतान्त्रिक गठबन्धनका लागि राजपा खुला रहेको बताउँदै उनले मुलूकलाई अतिवादबाट जोगाउन लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए ।


ADVERTISEMENT

# # #


मधेसमा जनताको भावना अनुसार राजपा र संघीय समाजवादी फोरमबीच चुनावी तालमेलको सैद्धान्तिक सहमति दुई हप्ता अघि नै भइसकेको बताउँदै उनले भोलिसम्म सिट बाँडफाँड हुने अवस्था रहेको बताए । लोकतात्रिक गठबन्धनमा नं २ को मुख्यमन्त्री सहित प्रतिनिधि सभाका लागि मधेसका ७५ मध्ये ५५ सिट आफूहरुले दाबी गरेको डा. झाले बताए । उनले राजपा संविधान संशोधनको मुद्दाका साथ निर्वाचनमा जाने बताए ।

असोज १९ गते कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने घोषणा गरेर सात सदस्यीय कार्यदल बनेको घोषणा गरिएको थियो । सो गठबन्धनमा आवद्ध ६ दलबाट एकएक जना र कांग्रेसबाट दुई जना सदस्य रहने भनिएको थियो । तर, उक्त कार्यदलको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले संयुक्त रूपमा प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा १ सय ३१ सिट पाउनुपर्ने माग कांग्रेससँग राखेकै दिनदेखि गठबन्धनमा आबद्ध हुन खोजेका ६ दलबीच बैठक नबसेको बताइएको छ । साझा चुनावी मुद्दाका साथ सिटमा तालमेल गरेर अघि बढ्ने उद्देश्यका साथ कांग्रेस, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा (प्रजातान्त्रिक) बीच लोकतान्त्रिक गठबन्धन निर्माणको प्रयास भएको थियो ।

आज नेपाली कांग्रेसले गोरखामा बाबुरामाको नयाँ शक्तिसंग र सुन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकसंग तालमेल गर्ने गरी उम्मेद्वार छानेर मनोनयन दर्ता गरिरहेको छ ।