काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेदरल्याण्डले नेपालमाथि ३ विकेटको सनसनीपूर्ण जित निकालेको छ ।


ADVERTISEMENT


त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलू टोली नेपालले दिएको २०७ रनको विशाल चुनौति नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्डस्का लागि वास डी लीडिले सानदार पारी खेले । उनले ४२ बलमा ७ चौका र ५ छक्काको मदतमा नटआउट ८१ रन ठोके ।


ADVERTISEMENT

# # #


यस्तै बेन कूपरले ३५ बलमा ५५ रन जोडे । त्यसक्रममा उनले १० चौका प्रहार गरे । यस्तै कप्तान पिटर सिलरले १५ बलमा ३१ रन बनाए । उनले सन्दीप लामिछानेलाई एकै ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए । टिवियस भिसेले ११ बलमा ३ चौकाको मदतमा १५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । महंगा साबित भएका उनले ४ ओभरमा ४८ रन खर्चिए । यस्तै करण केसी, अभिनास बोहरा र कुशल मल्लले समान १–१ विकेट लिए ।

यसअघि नेपालका लागि कुशल भुर्तेल र उपकप्तान दीपेन्द्र ऐरीले अर्धशतकबनाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो ।

डेब्यूदेखि लगातार तेस्रो टी–२० अर्धशतक बनाएका कुशलले ४६ बलमा ६२ रन बनाए । त्यसक्रममा उनले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक बनाएका दीपेन्द्रले आक्रामक ब्याटिङ गरे ।

तेस्रो विकेटका लागि कुशलसँग ७८ रनको शानदार साझेदारी गरेका उनले आउट हुनुअघि ३० बलमा ३ चौका र ५ छक्काको मदतमा ६० रन ठोके । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २० रन बनाए । त्यसक्रममा उनले २ चौका र १ छक्का प्रहार गरे । यस्तै सोमपाल कामीले १३ बलमा २ चौका र १ छक्काको मदतमा २१ तथा कुशल मल्लले ७ बलमा ३ छक्का प्रहार गर्दै १८ रन जोडे ।

विनोद भण्डारी ७ रनमा नटआउट रहे । नेदरल्याण्डका लागि भियन किंग्मा र कप्तान पिटर सिलरले समान २–२ विकेट लिए । यस्तै वास डी लीड र आर्यान दत्तले समान १–१ विकेट लिए ।