बलेवा– जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा एकै वर्षमा पाँचवटा सिँचाइ आयोजना निर्माण भएका छन् ।


ADVERTISEMENT


गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयले समेत बजेटको परिचालन गरेर पाँच किलोमिटर सिँचाइ कुलो निर्माण गरिएको हो ।


ADVERTISEMENT

# # #


गत वर्ष शुरुआत भएका दुई आयोजना र चालु आर्थिक वर्षमा विनियोजन भएका तीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । रेशको झण्डै ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरी ती आयोजना निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए। साविक रेश गाउँविकास समितिको वडा नं ५, ६ र ७ को अधिकांश जमिनमा सिँचाइ पुग्ने गरी ३.५ किलोमिटर देउराली सिँचाइ आयोजना निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखमा निर्माण सम्पन्न हुने चरणमा रहेको यो आयोजनाबाट झण्डै २०० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने स्थानीय अगुवा ओमबहादुर थापाको भनाई छ । यो आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । रेशखोलाबाट पानी ल्याउने गरी निर्माण भएको यो आयोजना आगामी असार मसान्तसम्म सबै काम सकिनेछ ।

साङ्खोलाको पानी किसानको खेतबारीमा पुग्ने गरी रेशमा अर्को ठूलो आयोजना डोटासाङ खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । एक किलोमिटर लामो सिँचाइ आयोजना गत आर्थिक वर्षमा ४०० मिटर र चालु आर्थिक वर्षमा ६०० मिटर निर्माण गरिएको हो । चालिस हेक्टर क्षेत्रफल रहेको जमिनका लागि सिँचाइ पु¥याउन गण्डकी प्रदेश सरकारको रु. ५४ लाख अनुदानमा आयोजना निर्माण भएको हो ।

काठेखोला गाउँपालिकाको रु ५० लाख अनुदानमा साङ्खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । रेशको सबैभन्दा ठूलो फाँटका लागि बनाइएको यो आयोजनाबाट २०० हेक्टर जमिनमा सिँचाइ हुनेछ । आठ सय मिटर लामो कुलो यसै आवमा निर्माण सम्पन्न भएको वडाध्यक्ष लामिछानेले बताउनुभयो । वडा कार्यालयले आफ्नै लगानीमा दामगाडे सिँचाइ आयोजना र सिम्ले सिँचाइ आयोजना निर्माण गरेको छ । झण्डै २० हेक्टर क्षेत्रफलका लागि निर्माण गरिएका आयोजनाको लागि वडा कार्यालयले रु. सात लाख खर्चेको छ ।

‘खोलामा पानी बग्ने, खेतबारी हिउँदमा बाँझै रहने समस्या अब हट्ने छ’, स्थानीय युवराज गौतमले भने, ‘रेशमा यो वर्ष बनेका सिँचाइ आयोजनाले किसानलाई उत्साहित बनाएको छ ।’ पानीको प्रशस्तै स्रोत रहेको रेशमा सिँचाइ कुलोको अभावमा खेतबारी बाँझै रहने समस्या थियो । सिँचाइ आयोजना बनेपछि हिउँदको समयमा खेतबारी हराभरा हुने अध्यक्ष लामिछानेले बताए ।

‘अब रेशको तल्ला फाँटमा तीनखेती हुन्छ, माथिल्लो भूभागमा तरकारी उत्पादन बढ्छ’ विस्तार लगाउँदै उनले थपे, ‘हामीले लामो प्रयासपछि वडाका अधिकांश भागमा पुग्ने गरी सिँचाइ आयोजना बनाएका छौँ ।’ वडाले वर्षामा भलको पानी तर्काउने र हिउँदमा खोलाको पानी फाँटमा पुर्‍याउने गरी सडक छेउबाट कुलो निर्माण गरेको छ । रासस