काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण दर नियन्त्रणका लागि भीडभाड नगर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


कोरोनाको दोस्रो लहरको भय बढेको भन्दै मन्त्रालयले भीडभाडजन्य गतिविधि नगर्न र २५ जनाभन्दा बढिको भेला नगर्न आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, मन्त्रालयले सोहि अनुरुप व्यवस्था गर्नका लागि आवश्यक प्रस्ताव मन्त्रिपरिषद्समक्ष पेश समेत गरिसकेको छ ।

हाल अत्याधिक भीडभाड हुने स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला ग्यादरिङलगायत सबै क्षेत्रहरु तत्काल बन्द गर्नुपर्ने बताउँदै गौतमले पछिल्लो समय कोरोनाको ग्राफ उकालो लाग्दो क्रममा रहेको बताएका छन् । ‘अहिले छिटपुट रुपमा कोभिड–१९ का केसहरु गएको महिनाको भन्दा बढेर गयो । अस्पतालमा आईसीयूमा बिरामीहरु धेरै नै भर्ना भइसकेका छन् । त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो । अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण एकदम बढेर जान्छ’, उनले भने ।

कोरोनाको संक्रमण दर झन् बढ्दै गएको स्थितिमा २५ जनाको भेलालाई समेत बन्देज गर्नुपर्ने अवस्था आइपर्न सक्ने उनको अनुमान छ । उनले भने, ‘कहीँ न कहीँ कोरोना सर्ने जुन साइकल छ, ट्रान्समिशन हुने जुन चेन छ त्यसलाई ब्रेक गर्नुपर्छ। त्यो ब्रेक गर्नु भनेको भीडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने, र लक्षण देखियो भने तुरून्त जाँच गराएर उपचार पनि गर्ने, त्यो गर्नका लागि हामीले भीडभाड हुने सबै व्यवसाय, पेशालाई जनस्वास्थ्यका मापदण्ड फलो गरेर गर्नचाहिँ मिल्छ तर त्यो भनेको के हो भने भीडभाड नगरेर दूरी कायम नगरी अब कुनै पनि काम गर्न मिल्दैन भनेको हो ।’

पछिल्लो समय संक्रमणको दर पुनः उकालो लाग्ने क्रम जारी रहेको र लक्षणहरु उस्तै देखिएपनि हाल लक्षण गम्भीर र जटिल किसिमको देखिएको बताउँदै उनले अघि भने, ‘अहिले अस्पताल भर्ना गर्नुपर्ने बिरामीहरुको संख्या ह्वात्तै बढेको छ । त्यसको मतलब संक्रमण भएकाहरुमा जटिल लक्षणहरु धेरै देखिएको छ । र, यसबाट के बुझ्न सकिन्छ भने, जटिल अवस्थाका बिरामीको मृत्यु हुने सम्भावना पनि बढि रहन्छ ।’

छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शङ्कास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको प्रवक्ता गौतमको दाबी रहेको छ ।