काठमाडौँ– नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल विद्यार्थी सङ्घले नेता जोशीको १२ औँ पुण्य तिथिका अवसरमा मङ्गलबार यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमान्दारी भएको व्यक्तित्व गुमाउँदा पर्दा पार्र्टी र देशलाई अपूरणीय क्षति पुगेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई दुई पाटोबाट हेर्नुपर्ने बताएका छन् । ‘नेता जोशीलाई विसं २०४६ सालको जनआन्दोलन पहिले र जनआन्दोलन पछाडि गरी दुई पाटोबाट अध्ययन गर्नुपर्छ’, उनले भने । पार्टीभित्रको विवाद समाधानमा सदैव लाग्ने नेता जोशी सबैको प्यारो नेता भएको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले स्वर्गीय जोशी विद्यार्थी आन्दोलनको अगुवा नेता भएको भाव उल्लेख गरेका छन् । ‘जोशीको निधनले देश र कांग्रेसले एक असल नेता गुमायो’, उनले भने । राजनीति गर्ने व्यक्तिले नवीन्द्रराजबाट पाठ सिक्नुपर्नेमा उनले जोड दिए ।

यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले पनि जोशीको निधनले नेविसङ्घ र कांग्रेसलाई अतुलनीय क्षति पुगेमा समर्थन जनाएका छन् । उनले जोशीको व्यक्तित्व आँखामा राख्दा समेत नबिझाउने रहेको थियो भन्ने भाव प्रस्तुत गरे । अर्का, कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले भने स्व. जोशी अत्यन्त चतुर र शालीन नेता भएको र कांग्रेसको सङ्गठन विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

सोहि अवसरमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले स्व. जोशीले दुःखका बेला राजनीति गरेको बताएकी छिन् । नेता जोशी नेपाली राजनीतिको प्रेरणाको स्रोत भएको उनले बताइन् । कांग्रेस केन्द्रीय सदस्य एवं नेविसङ्घका पूर्व अध्यक्ष प्रदीप पौडेलले स्व. जोशीको विचार र आदर्शले आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको बताए ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङगाना, महामन्त्री दीपक भट्टराईलगायतले कांग्रेस र नेविसङ्घलाई बलियो बनाएमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका थिए । रासस