काठमाडौँ – सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप आजदेखि लगाउने भएको छ ।


ADVERTISEMENT


खोप काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थाबाट लगाइदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उक्त खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी चिकित्सालय, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलबाट लगाइदैछ ।


ADVERTISEMENT

# # #


खोप चीनमा अध्ययन गरिरहेका विद्यार्थी, जो हाल नेपालमा छन्, अध्ययनको सिलसिलामा चीन जाने तयारीमा रहेका विद्यार्थी, चीनसँग व्यापार गरिरहेका व्यवसायी लगायतलाई उक्त खोप लगाउने जानकारी दिए । चीनले गरेको कडाइका कारण कोरोनापछि चीनबाट नेपाल फर्किएका विद्यार्थी हालसम्म अध्ययनका लागि फर्किन पाएका छैनन् ।

चीनले गत माघ तेस्रो साता ३ लाख र त्यसको एक महीनापछि थप ५ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानस्वरुप नेपाललाई दिने निर्णय गरेको थियो । तर प्रक्रियागत ढिलाइका कारण गएको सोमवार मात्र उक्त खोप नेपाल आइपुगेको थियो ।

सरकारले गत माघ १४ गतेदेखि भारतीय अनुदानमा प्राप्त १० लाख डोज कोभिडशिल्ड खोपबाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको थियो । त्यसपछि कोभिडशिल्ड निर्माणकर्ता कम्पनी सिरम इन्स्टिच्युटसँग आफैले २० लाख डोज खोप खरिद गरेकोमा त्यसबाट नेपाल आएको १० लाख खोप र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा दिएको ३ लाख ४८ हजार डोज खोप नेपालले लगाएको छ । कोभिडशिल्ड खोप दुई पटक लगाउनुपर्ने भएकाले सरकारले गएको फागुन अन्तिम सातादेखि नै दोस्रो चरणको खोप लगाउने भनेपनि खोप अभावका कारण दोस्रो चरणको खोप लगाउन सकेको छैन । सरकारले बैसाख ७ गतेबाट पहिलो डोज लगाएकाहरुलाई खोप लगाउने बताएपनि भारतले खोप निर्यातमा प्रतिवन्ध लगाएका कारण खोप कहिलेसम्म आइपुग्छ भन्ने निश्चित भइसकेको छैन ।