महोत्तरी– आफ्ना खेत गहृामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ ।


ADVERTISEMENT


जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो ।


ADVERTISEMENT

# # #


वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ । ‘पानीबेगर खेती जाँगर मरेका बेला बोरिङ जडानको काम थालिएको छ’, किसान शङ्कर साहले हँसिलो मुद्रामा भने, ‘अब बल्ल हामी किसानका लागि केही हुँदैछ भन्ने आश जागेको छ ।’ यहाँ जडान थालिएका १० वटा बोरिङले ५० बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

शङ्करजस्तै यहीकै अर्का किसान रामसेवक साह पनि अब बोरिङ जडान भएपछि समयमा बाली लगाउन पाइने आशमा छन् । आशातीत भावमा उनले भने, ‘हेर्नोस् न, भन्याबेला पानी हुँदैन, आकासे पानीको भरले कहिल्यै समयमा बाली लगाउन पाइएको छैन । खै अब चै काम थाल्या छन्, केही हुन्छ भन्ने विश्वास बढेको छ ।’ भारतसँग सीमा जोडिएको उक्त नगरपालिकाका मटिहानी, ढेकाहा, वर्दाहा, आवर, धिरापुर र सिमरदही तरकारी उत्पादनका उर्बर ठाउँ मानिन्छन् । तर, खेतीका लागि मुख्य कुरा सिँचाइ नै नहुँदा अपेक्षित उत्पादन लिन नसकेको किसानको गुनासो रहँदै आएको छ ।

मटिहानीमा बोरिङ जडानको काम प्रदेश नं २ सरकारको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत थालिएको र यसले अब निरन्तरता पाउने नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले किसानको खेतका गहृा–गहृामा पानी पुर्‍याउने नीति अघि बढाएसँगै स्थानीय पहलकदमी पनि बढेको हुँदा सिँचाइसम्बन्धी कार्यक्रम विस्तार हुँदै जाने नगरप्रमुख मण्डलको भनाइ छ ।

अहिले बोरिङ जडान थालिएको क्षेत्रमा १०० भन्दा बढी किसानले सिँचाइ सुविधा पाउने भएका छन् । दुई/चार कट्ठा जग्गामा भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ । रासस