काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीमबहादुर रावललाई कारबाही गर्ने संकेत गरेका छन् । पार्टीले सोधेको स्पष्टिकरणको जवाफ चित्त नबुझेपछि प्रधानमन्त्री ओलीले उनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले स्पष्टिकरणको जवाफ पाएको र दुइजनाको जवाफ अत्यन्तै नकारात्मक रहेकाले कारबाहीको भागिदार रहेको बताएको नेता विशाल भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीलाई उद्धृत गर्दै नेता भट्टराईले भने, ‘दुईवटा आएका स्पष्टिकरण कारबाहीका भागिदार हुन्छन् भनेर उहाँले भन्नुभएको छ ।’ कारबाही कुन प्रकृतिको हुन्छ भन्ने कुरा केन्द्रीय कमिटिको आगामी बैठकले तय गर्ने उनले जानकारी लिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले अन्य दुईजनाको स्पष्टिकरणको जवाफ अत्यन्तै सकारात्मक र पार्टीको एकतालाई एकढिक्का राख्न मदत गर्ने किसिमको आउने अपेक्षा गरेका छन् । केन्द्रीय कमिटिको बैठकले ओलीले नेता नेपाल र रावलसहित उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधेको थियो ।

१० बुँदे स्पष्टीकरणको जवाफमा नेता नेपालले पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेकाले आफूलाई होइन, उल्टै पार्टीले ओलीलाई कारबाही गर्नुपर्ने बताएका थिए । उनले कम्युनिस्ट आन्दोलन सिध्याउन लागेको, देशव्यापी रुपमा पार्टी विधान र पद्धति विपरीत गुटबन्दीपूर्ण संरचनाहरु निर्माण गरेको आरोप लगाएका थिए ।

स्पष्टिकरणको १४ बुँदे जवाफी पत्र पठाउँदै नेता रावलले ओलीलाई संविधान उल्लंघन गरेको, व्यक्तिगत स्वार्थ, दम्भ र पदलोलुपताको शिकार भइ पार्टी विधान विपरीत कार्य गरेको, पार्टी निर्णय अनेक पटक उल्लंघन गरेको, राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पुर्याएको लगायतका आरोप लगाएका थिए ।

नेता भुसाल र पाण्डले भने स्पष्टिकरणको जवाफ दिन बाँकी छ ।