ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलाको शवको पोस्टमार्टम गर्न अस्पताल प्रशासनले नदिएपछि एक महिलाको शव २४ दिनदेखि अलपत्र छ । सप्तरीको कृष्णासवरण गाउँपालिका–१ की २३ वर्षीया ललिताकुमारी चौधरीको असोज ७ मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सामान्य अवस्थामा भर्ना भएकी उनको पत्थरीको अप्रेसनका क्रममा समस्या देखिएको भन्दै मिर्गौला झिक्दा मृत्यु भएको आफन्तले बताएका छन् ।


ADVERTISEMENT


चौधरीलाई भदौ १७ मा पत्थरीको अपचार गराउन अस्पतालमा भर्ना गरिएको थियो । मृतकको पोस्टमार्टम गरिएमा अस्पतालको लापरबाही थप पुष्टि हुने डरले अस्पताल प्रशासनले शव बाहिर नदिएको आफन्तको आरोप छ । मृतकका भाइ नीरकान्त चौधरीले अस्पताल प्रशासनले मृतकको शव मात्र नभई भर्ना गरेदेखि मृत्यु हुनुअघिसम्म उचपारमा प्रयोग भएका औषधिको विवरण, सिटिस्क्यान रिपोर्टलगायत कागजात पनि नदिएको बताए । ‘उपचारमा मात्रै ७ लाख रुपैयाँ खर्च भइसक्यो,’ उनले भने, ‘पैसा पनि सकियो, बिरामीको पनि मृत्यु भयो ।’ उनका अनुसार बिरामीको अवस्थामा सुधार नभएपछि अर्को अस्पतालमा ‘रिफर’ गर्न आग्रह गर्दा अस्पतालले अस्वीकार गरेको थियो । ‘अस्पतालले आफ्नो कमजोरी बाहिर ल्याउन डराउँदा मेरी दिदीको मृत्यु भयो,’ उनले भने । उपचारमा संलग्न चिकित्सकलाई कडा कारबाहीको माग गर्दै स्वास्थ्य मन्त्रालयमा समेत उजुरी दर्ता गरेको पनि उनले बताए ।


ADVERTISEMENT

# # #


अस्पताल प्रशासनले भने उपचारका क्रममा मृतकका आफन्तले अस्पताललाई तिर्नुपर्ने रकम नतिर्नका लागि आन्दोलन गरेको दाबी गरेको छ । अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाले मृतकको सम्पूर्ण फाइल अस्पतालमै हुने भएकाले शवको पोस्टमार्टम गरिराख्नु नपर्ने किस्ट मेडिकल कलेजका वरिष्ठ प्रशासक अक्षयकुमार गौतमको दाबी छ । ‘तैपनि हामीले शव नलैजाऊ भनेका छैनौं,’ उनले भने, ‘अस्पताललाई बुझाउनुपर्ने करिब ५ लाख रुपैयाँ बुझाएर शव लैजान सकिन्छ ।’

मृतकका आफन्तले मंगलबार अस्पताल परिसरमा नाराबाजी गरेका थिए । आफन्तजनहरूले ‘उपचारमा संलग्न डाक्टरलाई कारबाही गर’, ‘मृतकका परिवारलाई उचित क्षतिपूर्ति दे’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएपछि अस्पतालमा तनाव भएको थियो । मृतकका आफन्तले अस्पतालले शव नदिएका कारण पोस्टमार्टम र दाहसंस्कार गर्न नपाएको भन्दै सांस्कृतिक हकको संरक्षण गरी पाऊँ भनी राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेका छन् ।

असोज १० मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा पनि उजुरी दर्ता गरेको तर प्रशासनले उजुरीको सुनुवाइमा चासो नदिएको मृतकका दाइ रामस्वागत चौधरीले बताए । प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले मृतकका आफन्तले दिएको उजुरी उपभोक्ता संरक्षण ऐन, २०५४ सँग सम्बन्धित भएको बताए । ‘ऐनमा डाक्टरको लापरबाहीले मृत्यु भएको होरहोइन पत्ता लगाउन निरीक्षण अधिकृत नियुक्त गरी अनुसन्धान गर्ने प्रावधान छ,’ उनले भने, ‘अधिकृत नियुक्त गर्न आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा पत्र पठाएका छौं ।’ उनले विभागबाट निरीक्षक नखटाउँदा अनुसन्धान रोकिएको बताए । राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत कैलाश सिवाकोटीले अस्पताल प्रशासनलाई मृतकका आफन्तले शव सद्गत गर्न पाऊँ भनी दिएको निवेदनअनुसार गर्नू भनी पत्र पठाइसकेको बताए । आजको कान्तिपुरबाट