काठमाडौँ– टोखा नगरपालिका–९ गोँगबुस्थित जागरण टोलमा ‘आधारभूत स्वास्थ्य केन्द्र’ स्थापना गरिएको छ ।


ADVERTISEMENT


टोखा नगरपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त केन्द्रको बुधबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखाका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिएका छन् । नगरपालिकाले चाँडै नै प्रदेश अस्पतालसमेत सञ्चालनमा ल्याउने उनको भनाइ थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले नगरपालिकाका प्रत्येक वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नीतिअनुसार टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिए । टोखाले आगामी दिनमा सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने उनको भनाइ छ ।

टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएसँगै गोँगबु नयाँ बसपार्क क्षेत्रका ५० हजार जनता प्राथमिक स्वास्थ्य सेवाबाट लाभान्वित हुने टोखा–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले जनाएका छन् । बुधबारदेखि शुरु भएको आधारभूत स्वास्थ्य केन्द्रमा सुगर, ब्लड प्रेसर जाँच, बच्चालाई खोप, महिलालाई प्रसूतिसम्बन्धी जाँच गरिने अध्यक्ष नेपालले बताए । उक्त केन्द्रमा अहेवसहित तीन कर्मचारी कार्यरत छन् ।

टोखा–२ मा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा निर्माण गर्नका लागि वाग्मती प्रदेशसमेतले स्वीकृति दिइसकेको छ । टोखामा निजी क्षेत्रमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, ग्रिनसिटी अस्पताल, अल नेपाल अस्पताल र विनायक अस्पताल सञ्चालनमा रहेका छन् । रासस