वाग्मती– प्रदेशको राजधानी हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।


ADVERTISEMENT


शनिबार मकवानपुर–११ सँग भएको फाइनल खेलमा १–० गोलअन्तरले आर्मी विजयी भएको हो ।


ADVERTISEMENT

# # #


खेलको ३९औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गरेको गोल नै खेलमा निर्णायक बन्यो । विजयी आर्मी क्लबले रु १० लाख, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी उपविजेतामा चित्त बुझाएको मकवानपुर–११ ले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी टिमलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतलगायतकाले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए।

फाइनल खेलमा आर्मीका टेकबहादुर बुढाथोकी म्यान अफ दी म्याच घोषितभएका छन् । उनले पुरस्कारस्वरुप रु. १० हजार प्राप्त गरेका छन् । आयोजक मकवानपुर–११ का कप्तान अशोक बराल खेल अवधिभरमै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। त्यसैगरी उत्कृष्ट खेलाडी बन्दै मकवानपुर–११ का अमिर श्रेष्ठले बुलेट मोटरसाइकल प्राप्त गरेका छन्।

त्यसैगरी लाइफटाइम एचिभमेन्ट अवार्डबाट पूर्वखेलाडी निर्मलबल लामालाई प्रदान गरिएको छ । आर्मीका विवश चौधरी खेलको उत्कृष्ट गोलरक्षक घोषित हुदैँ उनले नगद रु २५ हजार प्राप्त गरेका छन् । आर्मीका दीपक गुरुङ उत्कृष्ट डिफेन्डर, आर्मीकै शेशेहङ आङदाम्बे उत्कृष्ट मिडफिल्डर, मकवानपुर–११ का रञ्जन विष्ट उत्कृष्ट फरवार्ड र आर्मीका प्रशिक्षक नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए।

उत्कृष्ट हुने सबैले जनही नगद रु २५÷२५ हजार प्राप्त गरेका छन् । मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा छवटा ए डिभिजन, आयोजक र दुई मोफसलका क्लब गरी १० टिमको सहभागिता थियो । रासस