किरण पौड्याल– यहाँस्थित सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्र पुग्न सहज बनाउन पदमार्ग निर्माण थालिएको छ ।


ADVERTISEMENT


बाह्य पर्यटकको आगमन बढाउन पर्यटन बोर्डको लगानीमा सन्दकपुरस्थित माईपोखरीबाट ढापपोखरीसम्मको ४० किलोमिटर क्षेत्रमा पदमार्ग निर्माण भइरहेको हो । बहुवर्षे योजनाअनुसार यहाँ हालसम्म करिब १० किमी बाटो निर्माण भइसकेको छ ।


ADVERTISEMENT

# # #


पञ्चवर्षे योजनाअनुसार, प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य माईपोखरी–टप्पु–गोरुवाले भञ्ज्याङ–कालपोखरी–कैयाकट्टा–हाँगेथाम हुँदै ढापपोखरी पुर्‍याउने योजना छ । गएको वर्ष बोर्डबाट पदमार्गका लागि रु. दुई करोड ८९ लाख विनियोजन थियो, भने यस आर्थिक वर्षमा रु. तीन करोड ६९ लाख विनियोजन भएको छ । प्रदेश सरकारको अनुमानमा यो बाटो निर्माण गर्न कूल रु. एक अर्ब २६ करोड लाग्ने भएकाले ५० प्रतिशत लागत सहभागिताका लागि सङ्घीय सरकारसँग माग गरिएको छ ।

यस वर्ष कोरोनाका कारण लामो समय निर्माणकार्य सञ्चालन नहुँदा असोजसम्ममा काम सकिने योजनाका ठेकेदार रामेश्वर पुडासैनीले जानकारी दिए । उकालो बाटोमा सिँढी र तेर्सोमा सोलिङ निर्माण हुनेछ । पुडासैनीका अनुसार, पदमार्गभर १० हजार सिँढी बनाउनुपर्ने छ । विशेषगरी भारतीय र बङ्गाली पर्यटकका लागि पदमार्ग आकर्षक हुने भएकाले पदमार्ग निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष उदय राईले जानकारी दिए । पदमार्ग दुई मिटर चौडाइको हुनेछ । पदमार्ग निर्माणपछि स्थानीयवासीको आम्दानीको स्रोत बढ्ने छ भने सामान्य पर्यटकीय क्षेत्रमा समेत पर्यटकको नजर जाने अनुमान गरिएको छ ।

‘हाम्रो क्षेत्रका साना र महत्वपूर्ण पर्यटकीय क्षेत्रमा हाम्रै पनि चासो गएको छैन’, अध्यक्ष राईले भने,‘विलासिताका कारण पनि हामीमा हिँड्ने बानी छैन । यही बानीको विकासका लागि पनि पदमार्ग निर्माण गरिएको हो ।’

यहाँका सबैजसो क्षेत्र कुनै न कुनै रूपमा महत्वपूर्ण छन् । पदमार्गको शुरुआती विन्दु माईपोखरी धार्मिक एवं पर्यटकीय दृष्टिले अब्बल मानिन्छ । रामसार क्षेत्रमा समेत सूचीकृत भएकाले यहाँ वर्षेनि पर्यटक बढ्दो क्रममा छन् । झण्डै ५० हजारको हाराहारीमा वर्षेनि पर्यटक पुग्छन् । माईपोखरीबाट पदमार्ग पुगिने टप्पुको अर्कै महत्वपूर्ण विशेषता छ । पछिल्लो समय गाउँपालिकाले टप्पुलाई हाब्रे (रेडपाण्डा) क्षेत्र निर्माण गर्दै छ । गाउँपालिका र रेडपाण्डा नेटवर्कको सहयोगमा रु. ७८ लाखमा क्षेत्र निर्माण हुँदै गरेको हो । यस्तै गोरुवाले पनि अर्को पर्यटकीय क्षेत्रमा पर्छ ।

नेपाल–भारत क्षेत्रको सीमावर्ती क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रलाई महत्वपूर्ण मानिन्छ । यस्तै पदमार्ग पुग्ने अर्को पर्यटकीय क्षेत्र ढापपोखरी जिल्लाकै ठूलो कृत्रिम पोखरी हो । पर्यापर्यटकीय हिसाबले यो क्षेत्र अब्बल मानिन्छ । यिनै क्षेत्रलाई महत्वपूर्ण मान्दै बोर्डले पदमार्ग निर्माण थालेको हो । आउँदो चार वर्षभित्रमा पदमार्ग निर्माण सकिने छ । रासस