काठमाडौँ – पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न आज भएको जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक अनिर्णित भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा अपराह्न शुरु भएको बैठकमा करिब दुई घण्टा दलको विधानका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन । विधानको मस्यौदा तयार गर्न दुई सदस्यीय कार्यदल गठन गरिएको छ । पार्टीका नेता अनिल झा र रामसहाय यादव रहेको कार्यदलले विधानमा समेट्नुपर्ने विषयवस्तुबारे छलफल र परामर्श गरी पूर्णता दिने जसपाले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैठकले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेपनि केही विषय थपघट गर्नुपर्ने भएकाले त्यसलाई पूर्णता दिएर पारित गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिए । विधान पारित भएपछि मात्रै संसदीय दलको नेता चयन गर्न बाटो खुल्ने उनको भनाइ छ । बैठकपछि जसपाका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । ।

अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायतका नेता छलफलका लागि कांग्रेस सभापति देउवा निवास गएका थिए । । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र छन् । सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । जसपाले बन्दी नेताकार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ ।