हुम्ला – खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाको सिमानामा रहेको छारेस्थित झोलुङ्गे पुल जीर्ण हुँदा मानिस तथा घरपालुवा पशुवस्तुलाई आवतजावत गर्न समस्या भएको छ । विसं २०४५ मा निर्माण भएको सो पुलमाथि हालिएका काठका फल्याक कुहिएर गएको छ ।


ADVERTISEMENT


अहिले फल्याक राखेको ठाउँमा ढुङ्गा राखेर मानिस तथा घरपालुवा पशुवस्तुले ज्यानै जोखिममा राखी आवतजावत गर्नुपरेको रिपका स्थानीयवासी कुम्बिर परियारले बताए । पुलको दुवैतर्फ हालिएका फलामका जाली पनि खिया लागेर भाँचिने अवस्थामा रहेको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त पुलबाट खसेर दुई दर्जनजति घरपालुवा पशु वस्तु कर्णालीले बगाएर लगेको सोही ठाउँमा होटल व्यवसायी गरेर बसेका ट्वारे रावलले बताए । बेलाबेलामा सानोतिनो बजेट सर्केगाड गाउँपालिकाले विनियोजन गरे पनि झारो टार्ने काम बाहेक अन्य विकल्प नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।

गाउँपालिकाका जनप्रतिनिधिको आवातजावत गर्ने मुख्य बाटो त्यही पुल भए पनि कोही कसैको ध्यान जान सकेको छैन । जिल्लाकै मुख्य पुल भएकाले सम्बन्धित सरोकारवाला निकायले यो ठाउँमा पुल निर्माण तथा मर्मत गर्नु आवश्यक देखिएको स्थानीयवासीको भनाइ छ । रासस

 

सांकेतिक तस्वीर