चितवन – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले बिहीवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताएका हुन्।


ADVERTISEMENT


वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा काँग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ। यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको जनाउँदै पौडेलले प्रधानमन्त्री हुनबाट उनलाई रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताए। पौडेलले भने, ‘अहिलेको स्थिति नाजुक छ, सङ्कटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिनेरु कांग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन।’

पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै पौडेलले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अबस्था देखिएको बताए। पौडेलले भने, ‘सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छौं।’ एक प्रश्नका जवाफमा अहिलेको ‘भद्रगोल राजनीति’ कांग्रेसले सम्हाल्नुपर्ने बताउँदै उनले भारत, चीन र अमेरिकालार्ई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुनेगरी सरकार बन्नुपर्ने बताए।

प्रधानमन्त्री पद पाए नछाड्ने काँग्रेस सभापति देउवाको वक्तव्यप्रति आपत्ति जनाउँदै उनले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई कहिल्यै नचाहिने बताए। रासस