काठमाडौँ– यूएनएफपिएले नेपाल सरकारलाई रु. ३ करोड बराबरको आवश्यक पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


नेपाल, चीन र यूएनएफपिए बीचको विद्यमान दक्षिण–दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब रु. तीन करोड मूल्य बराबरको पिपिई, आइएआरएच किट्स तथा अन्य सामग्री खरीद गरी आज नेपाल जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई लाई हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त सहयोगअन्र्तगत ६ हजार ४८ सेट व्यक्तिगत सुरक्षा कवच (पिपिई), ५० हजार जोडा पञ्जा(ग्लोब्स्), ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री (आइएआरएच किट्स) प्रदान गरिएको छ ।

यस्तै, प्रजनन स्वास्थ्य किट्समा भने अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री रहेका छन् । यसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने विश्वास यूएनएफपिएले लिएको छ ।

उक्त सामग्री प्राप्त पछि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले कोभिड–१९ महामारीमा संकटासन्न महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न आफूहरु प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

आफूहरुको प्रयास कोभिड–१९ रोकथामका लागि निरन्तर एवम् धेरैजसो वित्तीय र मानवीय स्रोत यही लक्ष्यमा केन्द्रित रहेको बताउँदै उनले भने; ‘यो महत्वपूर्ण समयमा विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेको छ । हामी चीन सरकार र यूएनएफपिए प्रति आभारी छौँ ।’

यस अघि पनि नेपाल, चीन र यूएनएफपिए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत १,२०० सेट पिपिइ र ३,६०० थान स्यानिटाइजर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।