नवलपरासी– बर्दघाट–सुस्तापूर्व को देवचुली नगरपालिकास्थित दलदलेमा ड्युज लिग प्रतियोगिता शुरु भएको छ । देवचुली युथ क्लबले स्वर्गीय मुकेश सापकोटाको स्मृतिमा पहिलोपटक ‘टि–ट्वान्टी ड्युज लिग प्रतियोगिता–२०७७’ शुरु गरेको हो ।


ADVERTISEMENT


प्रतियोगिताको देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले बलिङ तथा नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले ब्याटिङ गरेर शुभारम्भ गरेका थिए।


ADVERTISEMENT

# # #


कुल आठ समूह सहभागी भएको प्रतियोगितामा पहिलो हुने समूहलाई रु. ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र तथा दोस्रो हुने समूहलाई रु. २५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको म्यान अफ दि सिरिजलाई रु. १० हजार, पदक र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मङ्गलबार भएको प्रतियोगिताको पहिलो खेलमा शिव माविले जीत निकालेको छ । आयोजक देवचुली युथ क्लबविरुद्ध शिव माविले ९८ रनले जीत निकालेको हो । निर्धारित २० ओभरको खेलमा शिव माविले ११७ रन जोडेको थियो । शिव माविको लागि शरद तिवारीले सर्वाधिक २४ रन जोडे ।

जवाफी ब्याटिङमा उत्रिएको आयोजक देवचुली युथ क्लबले सबै विकेट गुमाउँदै १९ रनमात्रै जोड्न सफल रह्यो । देवचुलीका लागि प्रनिश अर्यालले १३ रनको पारी खेले पनि उक्त पारी जित निकाल्न सम्भव भएन । प्रतियोगिताअन्तर्गत मङ्गलबार नै भएको दोस्रो खेलमा रक इलाभेन स्याङ्जा विजयी भएको छ ।

आजको खेल ग्लोबल इन्टरफेस इस्टर्न र वेस्टर्न क्रिकेट एकेडेमी र दोस्रो खेल गोर्खा वारियर्स र बालबिकास क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ । रासस