काठमाडौँ– पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


हाललाई रु. एक हजार १०० देखि रु. २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा रु. एक हजार १०० देखि रु. २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।


ADVERTISEMENT

# # #


कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने रु. पाँच हजार १०० रु. ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको उनले जनाए । महाशिवरात्रिका दिन रु. पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र रु. ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विशेष पूजाबाट रु. नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो ।

कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु. छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए । रासस