महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईसँग काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन, समस्या तिनको समाधान र भावी योजनाका बारेमा हिमालय पोष्टले गरेको कुराकानी:


ADVERTISEMENT


ट्राफिक प्रहरीको जिम्मेवारी सम्हालिसकेपछि काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि के-कस्ता योजना बनाउनुभएको छ ?


ADVERTISEMENT

# # #


मुख्यतः काठमाडौँमा जाम कसरी हुन नदिने, के गर्दा जाम घट्छ र दुर्घटना हुन नदिन के गर्ने यी दईवटा कामलाई प्राथमिकतामा राखेर हामी अगाडि बढेका छौँ । योजना सफल बनाउन हामीले केही रणनीति पनि बनाएका छौँ । सडक व्यवस्थापन गर्ने र पुर्वाधार राम्रो बनाउने हो भने मात्रै पनि धेरै हदसम्म जाम घटाउन सकिन्छ । तत्काल बनाउन सकिने पूर्वाधार बनाएर जाम व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्ने योजना हामीले बनाएका छौँ ।

अर्को ट्राफिक नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारवाही गर्ने रणनीति बनाएका छौँ । अहिले जानीजानी पनि नियम उल्लंघन गर्ने क्रम बढेको भेटिएको छ । कतिपय नजानेका होलान् उनीहरुलालाई सचेतना दिने र जानेरै पनि उल्लंघन गरेको पाइएमा उनीहरुलाई कडा कारवाही गर्ने गरेका छौँ ।

अर्को मुख्य कुरा के हो भने अहिले काठमाडौँमा सडकको क्षमताभन्दा सवारीसाधनको संख्या उच्च छ । सवारी साधन बढी भए, अब घटाउनुपर्छ । कुन सवारी कसरी घटाएर जाम कम हुन्छ हामीले अध्ययन गरिरहेका छौँ । कार्यालय समयमा बढी जाम हुने हुँदा स्कूल बस बिहान ९ बजेभन्दा अघि र साँझ ५ बजेभन्दा अघि नै चलाइसक्नुपर्ने निर्णय नै भइसकेको छ । यसैगरी कार्यालय समयमा मालबाहक सवारी चलाउन बन्द गर्ने तयारी पनि गरेका छौँ । जे होस् सवारी बढी भएको देखिएको छ, घटाउनुपर्छ ।

अर्को भनेको अब प्रविधिमा प्रवेश गर्नुपर्छ । अहिले सेवाहरू प्रविधिमार्फत दिइरहेकोमा ट्राफिक व्यवस्थापन पनि प्रविधिबाटै मात्र गर्ने तयारी गरेका छौँ । जस्तो ट्राफिक प्रहरी नभएर प्रविधिमार्फत नै स्पीड कन्ट्रोल गर्ने, ट्राफिक व्यवस्थापन गर्ने जस्ता योजना बनाएका छौँ । धेरै ठाउँमा प्रविधिको प्रयोग गर्न सकिने देखिएको छ, यसको तयारी हामीले अघि बढाएका छौँ ।

कोरोना महामारीका कारण लामो समय व्यक्ति र सवारीसाधन सडकमा आएनन् । तर अब विस्तारै अवस्था सामान्य बन्दै गएको छ । राजनीतिक घटनाक्रम पनि बढेको छ । चुनौती के छन् ? कसरी अघि बढ्ने योजना बनाउनु भएको छ ?

पक्कै पनि चुनौती थपिएको छ । आठ महिना खोला थुनेर खोला छाडिदिए जस्तो अहिले काठमाडौँको ट्राफिक अवस्था भएको अनुभूति मैले गरेको छु । ८ महिना बन्द भएर एकैपटक खुल्दा त्यो समयमा रोकिएका काम हुन थालेका छन्, बजार बढ्दै गएको छ । रोकिएका काम पनि गरिहालौँ भन्ने उत्साह नागरिकमा देखिन्छ । जसकारण कोभिड अघिको भन्दा सवारी र भीड थपिएको अवस्था छ । यसैगरी राजनीतिक र सामाजिक मुद्दाहरू सडकमा देखिएका छन् । चुनौती थपिएको छ । तर, चुनौती आएपनि व्यवस्थापन त गर्नु नै छ । माथिका रणनीति ठोस रुपमा अघि बढाए ट्राफिक समस्या निर्मुल नै नभए पनि धेरै हदसम्म घटाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ र सोअनुसार काम गरिरहेका छौँ ।

ट्राफिक व्यवस्थापनका लागि बनाएका योजना कार्यान्वयन गर्न कुन कुन निकायसँग सहकार्य गर्नुभएको छ ?

ट्राफिक व्यवस्थापन ट्राफिक एक्लैको जिम्मेवारी होइन, सम्भव हुने कुरा पनि होइन । अन्य निकायहरु छन् । सडक विभाग छ, जसले पूर्वाधार निर्माणमा सहयोग पुर्याइरहेको छ र अन्य सहकार्य पनि गर्नेछौँ । विदेशका विकसित सहरहरूमा अहिले ट्राफिक जाम किन हुँदैन भने त्यहाँ पूर्वाधारको निर्माण नै त्यसरी भएको हुन्छ । चाहेर पनि ट्राफिक नियम तोड्न मिल्ने हुँदैन । यहाँ युटर्न लगायतका ट्राफिक नियम तोड्ने प्रवृत्ति छ । त्यहाँ पाइँदैन, त्यस्तै पूर्वाधारको निर्माण आवश्यक छ । त्यसैगरी यातायात व्यवस्था विभाग, कार्यालय, काठमाडौँ महानगरपालिका, अन्य संघसंस्था आदि सबैको संयुक्त प्रयासबाट मात्र यो सम्भव छ ।

ट्राफिक व्यवस्थापना, दुर्घटना न्यूनीकरण अन्य सेवासुविधाका लागि प्रविधिको प्रयोग आवश्यक छ । हामीले प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य राखेर सोहीअनुसार व्यवस्थापनको योजना बनाएका छौँ ।

ट्राफिक बत्ती, चिन्ह लगायतका पूर्वाधारको अवस्था के छ ?

सडक दुर्घटनाबाट जोगिनका लागि सडक बत्ती लगायतका पूर्वाधारको महत्व धेरै छ । सडक बत्ती लगायत अन्य पूर्वाधारको अभावकै कारण पनि दुर्घटना भइरहेका प्रशस्त उदाहरण हाम्रासामू छन् । हामीले महानगरपालिकालाई भनेका छौँ । उहाँहरु पनि यस विषयमा गम्भीर हुनुहुन्छ । तर, बजेट लगायत प्रक्रियागत समस्याहरू उहाँहरूका पनि होलान् र समय लागेको छ । अन्य ‘इक्वीप्मेन्ट’ अत्यावश्यक हुन्छ । विभिन्न संघसंस्था तथा कार्यालयबाट सहयोगस्वरुप त्यस्ता इक्वीप्मेन्ट’हरु उपलब्ध भइरहेको छ ।

आगामी मुख्य रणनीति के छ ?

प्रविधि नै अबको मार्ग हो । अब प्रविधिको अधिकतम प्रयोग गरेर जानुपर्छ । ट्राफिक व्यवस्थापना, दुर्घटना न्यूनीकरण अन्य सेवासुविधाका लागि प्रविधिको प्रयोग आवश्यक छ । हामीले प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य राखेर सोहीअनुसार व्यवस्थापनको योजना बनाएका छौँ ।

ट्राफिक प्रहरीको सानो क्रियाकलापले नागरिकको जीवनमा असर पर्ने हुन्छ । नागरिकको जीवन सहज बनाउनलाई हाम्रो तर्फबाट गर्नुपर्ने अधिकतम् प्रयासहरुले हामीले गर्नुपर्छ ।

अन्तरराष्ट्रिय स्तरको ट्राफिक व्यवस्थापनका लागि के के गर्नुपर्छ ? तयारी के कस्तो छ ?

ट्राफिक व्यवस्थापनमा अन्तरराष्ट्रिय मापदण्डअनुसार गरिहाल्न सक्ने अवस्था अहिले छैन । किनभने अन्तरराष्ट्रिय मापदण्ड कार्यान्वयन गर्न सोहीअनुसारको संरचनाका आवश्यक पर्छ । जुन यतिबेला हामीसँग छैन । तर, सहरको ट्राफिक व्यवस्थापन सहज बनाउने, सुन्दर बनाउने जुन हाम्रा मापदण्डहरू लागू गरेर जानुपर्छ । प्रविधिलाई नै जोड दिएर अन्तरराष्ट्रिय मापदण्डअनुरुप बनाउँदै लैजान सकिन्छ । यसबाहेक दीर्घकालीन रुपमा गर्नुपर्ने थुप्रै कामहरू छन् । थोरै थोरै परिवर्तन गर्दै जाने हो, मैँले अलिकति, मपछि आउनेले अलिकति गर्दै विस्तारै हुँदै जाने कुरा हो । यसरी विकास गर्दै जाँदा विस्तारै एउटा स्तरमा पुगिन्छ । अहिले एकैपटक जम्प गरेर अन्तरराष्ट्रिय मापदण्डमा पुग्छु भनेर जम्प गरेर त्यहाँ पुग्न सकिन्न । अहिलेको मेरो योजना प्रविधिमा जानुपर्छ भन्ने हो ।

ट्राफिक प्रहरीसँग प्रत्यक्ष रुपमा जोडिने भनेको आम सर्वसाधारण नै हो । सर्वसाधारणसँगको सम्बन्ध सुमधुर बनाउन के कस्ता कामहरु भइरहेका छन् ?

काठमाडौँको कुरा गर्नुपर्दा अहिले प्रत्येक नागरिकको दैनिकीसँग ट्राफिक प्रहरी जोडिइसकेको छ । ट्राफिक प्रहरीको सानो क्रियाकलापले नागरिकको जीवनमा असर पर्ने हुन्छ । नागरिकको जीवन सहज बनाउनलाई हाम्रो तर्फबाट गर्नुपर्ने अधिकतम् प्रयासहरुले हामीले गर्नुपर्छ । ट्राफिक व्यवस्थापन सहज बनाएर नागरिकको यात्रामा सहज बनाउन सक्यो भने नागरिकसँग जोडिने सबैभन्दा सहज बाटो त्यही हो । यसबाहेक पनि हामीले धेरै कार्यक्रमहरू गरिरहेका हुन्छौँ । ट्राफिक नियम पालनाका लागि नागरिक आफै सहज हुने गरी जनचेतनामूल कार्यक्रम र नागरिकलाई पनि त्यस्ता क्रियाकलापमा सहभागी गराउने, सिकाउने, स्वयंसेवकका रुपमा काम गराउने लगायत काम गरिरहेका छौँ । यी सबै क्रियाकलापले हामी नागरिकसँग जोडिइरहेका छौँ ।

अन्तिममा, ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सबै निकायलाई के भन्न चाहनुहुन्छ ?

विशेषगरी सवारी चालक सबैलाई ट्राफिक नियम थाहा छ । उहाँहरूलाई ट्राफिक नियम पालना गरिदिन आग्रह गर्दछु । एकजनाले मात्र नियम उल्लंघन गर्दा सहरको ट्राफिक अस्तव्यस्त हुने अवस्था आउन सक्ने भएकाले यसमा सजग हुन आग्रह गर्दछु ।