काठमाडौँ – नेपाली सेनाले विश्वको दोस्रो तथा आरोहणका दृष्टिले सबैभन्दा कठिन मानिने ‘केटु’ हिमालमा कीर्तिमानी आरोहण गर्ने नेपाली टोलीलाई सम्मान गरेको छ ।


ADVERTISEMENT


बुधबार सेनाले आफ्ना प्रधान कार्यालय जंगी अड्डामा विशेष समारोहकाबीच ‘केटु’मा जाडोयाममा सफल आरोहरण गरेर कीर्तिमान राख्य सफल निर्मल पूर्जामगर नेतृत्वको नेपाली आरोहण दललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेको हो ।


ADVERTISEMENT

# # #


१० सदस्यीय नेपाली आरोहण दलले गत माघ ३ गते (जनवरी १६) मा ८ हजार मिटरभन्दा अग्ला १४ हिमालहरु मध्ये जाडो मौसममा सफल आरोहण नगरिएको ८ हजार ६ सय ११ मिटर अग्लो केटुमा इतिहासमै पहिलो आरोहण गर्न सफल भएको थियो ।

सम्मान कार्यक्रममा उक्त कार्यक्रममा केटु हिमाल सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त अवसरमा आरोहण दलका नेता निर्मल पुर्जा मगरले मृत्युलाई चुनौती दिँदै केटुको शिखरमा नेपालको राष्ट्रिय गान गाउँदै नेपालको राष्ट्रिय झन्डा फहराउन सफल हुँदाको आफ्नो अनुभव सुनाए ।

बेलायती सेनाको ‘स्पिशयल फोर्स’बाट सेवा निवृत्त पुर्जा मगरले सामूहिक भावना तथा आफ्नो देश एवं शेर्पा समुदायको नाम राख्‍न केही गरौं भन्‍ने चाहनाले गर्दा ईतिहासमै खतरनाक मानिएको हिमाल आरोहण गर्न सफल भएको बताए । विदेशमा सेवा गर्दा मातृभुमिको माया एवं कर्तव्यबोध अझ बढी हुने आफ्नो अनुभव समेत उनले साटे ।

कार्यक्रममा आरोहीहरुलाई बधाई मन्तव्य दिँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले सामुहिक भावना तथा दृढ विश्‍वास एवं लगनशीलताले जाडो याममा केटुजस्तो खतरायुक्त हिमालको सफल आरोहण गर्न सम्भव भएको बताए । उनले विदेशमा सेवा गर्नु नराम्रो पटक्‍कै नभएको र विदेशमा प्राप्त अनुभव तथा सिपलाई स्वदेशको प्रगतिमा उपयोग गर्नु आजको आवश्यकता रहेको औँल्याए ।

प्रधानसेनापति थापाले राष्ट्रिय भावनासहितको लक्ष्य लिएर अघि बढ्ने संकल्प गरेमा नेपालमा असम्भव भन्‍ने हरेक पक्षलाई सम्भव बनाउन सकिने धारणा व्यक्त गरे ।