चितवन– कारागार कार्यालय भरतपुरमा रहेका १३ कैदीले आममाफी पाएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार ५० प्रतिशत कैद भुक्तान भई आचरण राम्रो भएका उनीहरुले आममाफी पाएका हुन् ।


ADVERTISEMENT


आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका पाँच जना, कर्तव्य ज्यान मुद्दाका चार जना र ज्यान मार्ने उद्योगका चार जना रहेको काफ्लेले जानकारी दिए। कार्यालयले २६ जनाको सिफारिस गरेकामा राष्ट्रपतिबाट १३ जनाको नाममा आममाफी भएको हो ।


ADVERTISEMENT

# # #


सरकारले हरेक वर्ष विभिन्न अवसरका क्रममा देशभरका कारागारमा रहेको असल चरित्र भएका र ५० प्रतिशत कैद भुक्तान भएकालाई राष्ट्रपतिमार्फत आममाफी दिने गरेको छ । प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस र बडादशैँजस्ता अवसरमा आममाफी दिने गरिन्छ ।

कारागार कार्यालय भरतपरमा अहिले क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । दुई सय ५५ पुरुष बन्दीगृहमा ६२१ र २५ जना महिला बन्दीगृहमा ५७ जना रहेका छन् । उनीहरुसँगै तीन जना आश्रित बालबालिकासमेत रहेको काफ्लेले बताए ।

कैदीबन्दीको चाप बढेसँगै विभिन्न जिल्लामा स्थानान्तरण गरिने गरेको भए पनि कोरोना कहरका कारण यस वर्ष स्थानान्तरण नगरिएको उनले जानकारी दिए । रासस