लहान– सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला सिँचाइको पूर्वी मूलद्वारलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । सरकारले मनाउन लागेको पर्यटन वर्षलाई फलदायी बनाउने उद्देश्यले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइको पूर्वी मूलद्वारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागेको हो ।


ADVERTISEMENT


पछिल्लो समय कमला सिँचाइको पूर्वी मूलद्वारमा घुमफिर गर्नेदेखि वनभोज गर्न आउनेको सङ्ख्या बढ्दै गरेको बन्दीपुरका स्थानीय राजकुमार लामाले जानकारी दिए । पहिले खासै सर्वसाधारणको चहलपहल नहुने त्यहाँ, तर हाल पर्यटकलाई आकर्षित गर्न त्यहाँ भौतिक संरचना निर्माण गरिएपछि विस्तारै चहलपहल बढ्न थालेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


यस्तै, कमला नदीबाट सिँचाइ गर्न बनाइएको सिँचाइ आयोजनाको मूलद्वारमा आन्तरिक पर्यटक आउने गरेकाले त्यो स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना ल्याएको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख विनयकुमार गामीले जानकारी दिएका छन् ।

धार्मिकस्थलको रुपमा समेत परिचित कमला नदीमा नुहाउन आउने श्रद्धालु बढ्दै गएको बताउँदै उनले भने; ‘त्यसैले सो स्थानलाई आर्थिक वर्ष २०७६/०७७ देखि नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागेका छौँ ।’ यसबाट आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकसमेत आउने विश्वास लिइएको प्रमुख गामीको भनाइ छ ।

पूर्व पश्चिम लोकमार्गअन्तर्गत बन्दीपुरदेखि करिब एक किलोमिटरको दूरीमा रहेको सो क्षेत्रमा करिब रु. २० लाखको लागतमासडक ग्राभेल, पोखरी निर्माण, नहर वरिपरि आकर्षक घाँसको चपरी, वृक्षरोपण, रङरोगन, रेलिङ, पर्यटक बस्ने कुर्सी निर्माण गरिएको प्रमुख गामीले बताए । उनका अनुसार, चालु आर्थिक वर्षभित्र बन्दीपुरदेखि करिब एक किलोमिटर सडकलाई कालोपत्रे गरिने छ ।

सो स्थलमा नयाँ निर्माण गरिएको पोखरीमा डुङ्गा राख्ने योजनासमेत रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । चुरेको फेदमा रमणीयस्थलको रुपमा रहेको सोस्थलमा पहाड क्षेत्र खोला, मूलगेट निर्माण गरिएको छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनासँगै किसानलाई बाह्रै महिना मौसमी, बेमौसमी तरकारी खेती गर्न नर्सरी माइनर योजनाअन्तर्गत कुलोसमेत निर्माण गरिएको प्रमुख गामीले बताए ।

करिब ५०० बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रका किसानका खेतमा जेठसम्म सिँचाइ पुर्‍याउने लक्ष्यका साथ कुलोसमेत निर्माण गरिएको छ । यसबाट खेती गर्न असाध्यै सहयोग पुगेको किसानको कथन छ । रासस