काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् ।


ADVERTISEMENT


वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस बिफ्रिङमा उनले ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि भएको स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त ब्रिफिङ कार्यक्रममा बोल्दै उनले भने; ‘संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको अविचलित यात्राको निरन्तरताका लागि हो । यो कदम हाम्रो लोकतान्त्रिक प्रणालीलाई ‘समीकरण र गठबन्धन’को फोहोरी खेलबाट मुक्त गर्न चालिएको ‘बाध्यात्मक तर आवश्यक’ र अहिलेको लागि ‘अपरिहार्य’ कदम हो ।’

सरकार सञ्चालनका लागि जनतालाई फेरि एकपटक आफूले रुचाएको दलको छनोट गर्ने मौका मिलेको बताउँदै उनले थपे; ‘जनतालाई साक्षी राखी गरिएका कबूलहरु पूरा गर्न सत्तारुढ दलको अध्यक्ष एवं प्रधानमन्त्रीको हैसियतमा म प्रतिबद्ध छु । आगामी निर्वाचनबाट फेरि एकपटक अस्थिरताको खेती गर्न चाहनेहरुको दाउपेच चकनाचूर हुनेछ । मुलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्नेछ ।’

प्रधानमन्त्री ओलीले निर्वाचन लोकतान्त्रिक प्रणालीको जीवन भएको र लोकतन्त्रमा निर्वाचनले राष्ट्र वा पार्टीहरुलाई विभाजन नगरी एक बनाउने बताउँदै निर्वाचनको घोषणापछि विजय हासिल गर्न, निर्वाचनमार्फत आफ्ना उद्देश्य पूरा गर्न, अझ सुदृढ एकताका साथ अघि बढ्नुपर्नेमा विभिन्न निहुँ र बहाना बनाएर पार्टीलाई नै विभाजित गर्ने प्रयास गर्नु अपराध भएको टिप्पणी समेत गरेका छन् ।

आगामी वैशाख १७ गते ४० र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचनको घोषणा भएअनुरुप नै निर्वाचन आयोगले आफ्नो तयारी तीव्रताका साथ गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले हाल निर्वाचनको क्रममा रहेको बताएका छन् । ‘केहीले अझै पनि चुनाव त हुन्छ भन्दै प्रश्न उठाएको सुन्छु । म जोड दिएर भन्न चाहन्छु, चुनाव हुन्छ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ; उनले भने ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा भएरै छाड्ने विश्वास व्यक्त गर्दैै प्रधानमन्त्री ओलीले निर्वाचनमा सक्रियताका साथ सहभागी भई निष्फिक्री आपूmले मन पराएको दलका जनप्रतिनिधिलाई चुन्न आमजनतालाई अनुरोधसमेत गरेका छन् । रासस