काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि आज उनले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पश्चिमबाहेकका तीन मोहडाको लागत रु. ८७ करोडमा पुनःनिर्माण भएको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका तीनवर्षे कार्यकालका विषयमा जानकारी गराएका थिए । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सर्ने जनाइएको छ ।

भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरमै रहेको तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

पुनःनिर्माण सम्पन्न भई उद्घाटन भएका मोहडा विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरुपमा पुनःनिर्माण गरिएको थियो । भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधासम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्र राखिएको छ । कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणालीसमेत जडान गरिएको छ ।

सिंहदरबार पुनःनिर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार, दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत तीन मोहडाको पुनःनिर्माण भएको हो ।

उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेण्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रबलीकरण गरिएको उनले जानकारी दिए। निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको तथा शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको एकाइले जनाएको छ ।

भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार तीन मोहडाको उदघाटन गर्दै प्रधानमन्त्री केपी शर्माओली ।

पश्चिम मोहडाको प्रबलीकरण जारी

आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी प्रबलीकरण भइरहेको छ । सो भाग भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गरी पुनःनिर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञबीच छलफलले समय लिएको थियो ।

सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरुपमै बचाउन प्रबलीकरण नै गर्न उपर्युक्त भएको निष्कर्ष आएपछि प्राधिकरणबाट प्रबलीकरण भइरहेको छ । विसं २०७६ असोज २७ गतेदेखि शुरु भएको पश्चिम मोहडाको पुनःनिर्माणको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । मूल्यअभिवृद्धि करबाहेक करीब रु ४६ करोड ८८ लाखमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीले पश्चिम भागको प्रबलीकरण गरिरहेको छ । आगामी असारसम्म पश्चिमी मोहडाको काम पनि सक्ने जानकारी गराइएको छ । रासस