दुर्गा देवकोटा, टीकापुर– कैलालीको जानकी गाउँपालिकाकी शुभेच्छा मगरले श्रीमानबाट ठूलो सहयोगको अपेक्षा गरेकी छैनन् । शुभेच्छालाई आफू दिनभरि घरको कामले थाकेका बेला श्रीमानले साना–साना काममा सघाइदिए पुग्छ । उनलाई बच्चा विद्यालय पठाउन तयार गरिदिने, बच्चालाई खाना खुवाइदिए पनि खुशी मिल्थ्यो ।


ADVERTISEMENT


‘म घरको कामले थाकेकी हुन्छु । म पनि जागीर गर्छु, श्रीमान् पनि जागीरे हुनुहुन्छ । तर मैले मात्रै घरको काम पनि सम्हाल्नुपर्छ; शुभेच्छाले गुनासो गरिन् । अफिसबाट फर्केपछि घरको काम मिलेर गर्न पाए मात्रै पनि खुशी मिल्ने उनको भनाई छ । तर उनका श्रीमान्ले घरका काममा उनलाई सहयोग गर्दैनन् । कहिलेकाहीँ बच्चाको काम सघाएदिए पनि खुशी मिल्ने उनी बताउँछिन् ।


ADVERTISEMENT

# # #


यता, शुभेच्छाका श्रीमान् मनबहादुर मगरलाई भने घरको काम गर्न लाज लाग्ने बताउँछन् । ‘कहिलेकाहीँ श्रीमती थाकेको देख्दा दया लाग्छ तर काम गरेमा छिमेकीले कुरा काट्छन्; मनबहादुर अघि बोल्दै भन्छन्; ‘म भान्सामा खाना पकाउने काममा सघाउथेँ, एकदिन पल्लो घरका काकाले श्रीमतीको नोकर बनेर बसेको भने अनि चटक्क छोडेँ । चाहेर पनि सघाउन मन लाग्दैन ।’

जानकी ७ की तीर्था चौधरीलाई पनि घरमा गरिने काममा पुरुषको साथ आवश्यक लाग्छ । ‘महिला एक्लै काममा हुन्छन् । दिनभरि काम गरेर थाक्छन्; अघि बोल्दै तीर्था भन्छिन्; ‘कहिलेकाहीँ पुरुषले लुगा मिलाइदिए, सरसफाइमा सघाए हुन्थ्योजस्तो लाग्छ । आफ्ना लुगा आफैँ धुने, मिलाउने काम गरे पनि सहयोग पुग्छ ।’

आजको २१ औँ शताब्दीमा हामीले समाज र देशमा महिला पुरुषको समान र बराबरीको कुरा गरिरहँदा अझैपनि महिलालाई यसका निम्ति आफ्नो घरपविाबाटै सहयोग नमिलेको देखिन्छ । समाज जतिसुकै आधुनिकताको डोरीले किन नबाधिँयोस्, तर, व्यक्तिको सोच पुरातनवादी छ भने त्यसले कुनै महत्व राख्दैन ।

घर श्रीमानश्रीमती दुवैको हो । घरको काम पनि दुवैको जिम्मेवारी हो तर हाम्रो समाजमा घरको काममा सघाउने पुरुष कमै भेटिन्छन् । जानकीकै आशु चौधरीको पनि श्रीमानसंग धेरै आशा छैन । ‘ठूलो सहयोग चाहिएन, तरकारी बारीबाट टिपिदिए, केलाइदिए, पानी बोकिदिए पनि म त खुशी हुन्छु ।’ पुरुषले पनि सरसफाइको काम गर्नुपर्छ, घर दुवै मिलेर चलाउनुपर्छ भनी पुरुषलाई बुझाउन आवश्यक रहेको उनको अनुभव छ ।

यस्तै, जानकी ७ का वडा सदस्य वीरमा विक समाजमा घरको कामको बोझ महिलालाई बढी हुनुले पनि हिंसा बढाएको बताउँछिन् । महिला दिनभरि थाकेका हुने अझ पुरुषले मदिरा खाएर कुटपिट गर्ने गरेको भन्दै उनले भनिन्; ‘महिलाको श्रमको मूल्य छैन । त्यसमाथि पुरुषले गर्ने हिंसाका कारण महिलाको विकास हुन सकेको छैन ।’

घरको कामबाट फुर्सद नपाउने भएर महिलाले सामाजिक काममा समय दिन कठिन हुने गरेको शिक्षिका रेश्मा भट्टको भनाई छ । ‘कलिलैमा विवाह गरिदिन्छन्, भविष्य बनाउने समय सन्तान उत्पादन, घरधन्दामा बित्छ ।’ जसले श्रीमानको साथ पाए, उनीहरु सफल भएका उदाहरण पनि रहेको बताउँदै उनले थपिन्; ‘जसले साथ पाएनन् उनीहरु घरबाट उम्कन पाउँदैनन् ।’

समाजशास्त्री शिवचरण चौधरी पनि घरायसी कामको जिम्मेवारी महिलालाई मात्र दिइनु गलत भएको स्वीकार गर्छन् । ‘हाम्रो समाजले छोरीलाई संस्कारी हुनुपर्छ, लजालु हुनुपर्छ भन्ने सिकाएको छ तर छोरा पनि संस्कारी हुनुपर्छ, घरको काममा सघाउनुपर्छ भनी सिकाएको छैन; उनले भने ।

छोरालाई पनि संस्कार र जिम्मेवारी सिकाउन आवश्यक रहेकोतर्फ स्पष्ट पार्दै उनले भने; ‘लैङ्गिक समानता र समाज विकासका लागि छोरालाई पनि जिम्मेवार बनाउन अभिभावकले ध्यान दिनुपर्छ ।’

टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का सहयोगी पुरुष पाएका महिलाको पोषण अवस्थासमेत राम्रो रहेको बताउँछिन् । ‘श्रीमान् र परिवार सहयोगी भएका कामकाजी या गृहणी महिलाको स्वास्थ्य अवस्था राम्रो रहेको बताउँदै उनले भनिन्; ‘कामको बोझ बढी भएका महिलाले खानपानमा ध्यान दिन पाउँदैनन् । उनीहरु शारीरिक र मानसिकरूपमा कमजोर भएर उपचारमा आउने गरेका छन् ।’

स्टाफ नर्स खड्का महिलाको स्वास्थ्यमा ध्यान नदिँदा उपचारमा धेरै रकम खर्च हुने गरेकाले महिलाको स्वास्थ्यप्रति परिवार सचेत बन्न आवश्यक रहेको बताइन् । ‘धेरै कामको बोझ बोकिरहेका महिलामा मानसिक समस्यासमेत देखिन थालेको छ; उनी भन्छिन्; ‘यसले भविष्यमा परिवारमै समस्या निम्तिन सक्छ । परिवारको खुशीका लागि सबैले सबै कामको जिम्मेवारी लिनुपर्छ ।’ रासस