काठमाडौं – नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले बलात्कारका घटना रोक्न र दोषीको पहिचान गरी कडा कारवाही गर्न माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । समितिले शुक्रबार बैतडीकी १७ वर्षीया किशोरी भागीरथी भट्टको बलात्कार गर्ने र हत्या गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै धर्ना दिएको हो ।


ADVERTISEMENT


समितिका सभापति बाबुराम आचार्यले बलात्कृत छोरीचेलीहरुको न्यायका लागि सबै लाग्नुपर्ने बताए । उनले निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीलाई अनुसन्धान गरी कारवाही नगरिएकोमा दुःख लागेको भन्दै भागीरथीको बलात्कार र हत्या गर्ने अपराधी पनि कानूनी कठघरामा बस्नबाट नउम्कुन धन्ने आफूहरुको भावना रहेको बताए ।


ADVERTISEMENT

# # #


सयौंको संख्यामा उपस्थित रहेका नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभचिन्तकहरुले ‘भागीरथीलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘महिला हिँसा बन्द गर’, ‘शान्ती सुरक्षा कायम गर’ जस्ता प्ले कार्ड र ब्यानरहरु बोकेर बाटो छेउमा बसेका थिए । सभापति आचार्यले बलात्कार र हत्याजस्त जघन्य अपराध गर्ने जोकुकै भएपनि कडा कारबाही गर्नुपर्ने माग आफूहरुको भएको भन्दै चेलीहरु सुरक्षित रुपमा डरत्रासविहीन ढंगले हिँडडुल गर्ने वातावरण सरकारले बनाउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

सहभागीहरुले बलात्कारजस्तो जघन्य अपराध दिनानुदिन बढ्दै गएकोले राज्यले रोकथामका लागि विशेष योजना बनाउनुपर्ने विचार व्यक्त गरेका थिए । बिभिन्न मिडियासंग बोल्दै प्रदर्शनमा सहभागीहरुले बलात्कारी र हत्यारालाई कारबाही गर्न नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकोमा आक्रोस पोखेका थिए । उनीहरुले निर्मलाका बलात्कारी र हत्यारा उम्किएकोजस्तै गरी भागीरथीका हत्यारा पनि उम्कनसक्ने हुँदा तीन करोड नेपाली जनताले नै सरकारलाई अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न दबाब दिनुपर्ने बताएका थिए ।