काठमाडौँ– हिमालयन उद्वार संघले आफ्नो ४६ औँ साधारण सभा सम्पन्न गरेको छ । आव २०७६/७७ को कार्य विवरण पेश गर्दै संघले आफ्नो ४६ औँ साधारण सभा सम्पन्न गरेको हो ।
संघले कोरोना सङ्क्रमणपछि विस्तारै पर्यटन व्यवसायले गति लिन शुरु गरेको अवस्थामा पर्वतीय पर्यटनमा आउने पर्यटकका लागि सुरक्षित अनुभूति दिलाउनु पर्नेमा जोड दिइएको छ । यस्तै, संघले मनाङ तथा फेरिचे स्वास्थ्यचौकी तथा सगरमाथा आधारशिविर र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन कार्यालय निरन्तरता दिने निर्णय गरेको छ ।
सो अवसरमा सङ्घका अध्यक्ष हरिप्रसाद धरेलले लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारी सूूचना प्रवाह गर्न ठाउँठाउँमा सूचनापाटी राख्ने, पर्चा पम्पलेट वितरण गर्ने, विद्यार्थीहरुलाई प्रशिक्षित गराउने तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा सङ्घका कार्यक्रम विस्तार गरिने बताएका छन् ।
उनले खुम्बु पासाङल्हामु तथा मनाङको ङिस्याङ गाउँपालिकासँग समन्वय गरी विभिन्न सुरक्षात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी समेत दिए ।
बैठकमा सङ्घका महासचिव श्रीराम खत्रीले प्रस्तुत गरेको आव २०७६/७७ को प्रगति प्रतिवेदन तथा आव २०७७/७८ को वार्षिक कार्यक्रम तथा कोषाध्यक्ष सुशीलकृष्ण अधिकारीले आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन तथा आव २०७७/७८ को वार्षिक बजेटलाई पारित गरेका थिए ।
यसका साथै, सङ्घका मेडिकल निर्देशक डा. बुद्ध बस्न्यातले प्रस्तुत गरेको मेडिकल प्रतिवेदनलाई पनि बैठकले पारित गरेको छ । रासस