हुम्ला– स्थानीय तहका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन सम्पन्न भएको छ। सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि जिल्ला निर्वाचन कार्यालयद्धारा सो कार्यक्रम सम्पन्न गरिएको हो ।


ADVERTISEMENT


कार्यालयका प्रमुख महेशकुमार थापाले, चुनावमा मत बदर नहोस्, भन्नका लागि ती कार्यक्रमले सहयोग पुग्ने जानकारी दिए । उनका अनुसार, कक्षा आठ, नौ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।


ADVERTISEMENT

# # #


विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । कार्यक्रममा २ सय भन्दाबढी विद्यार्थीको सहभागीता रहेको थियो।

निर्वाचन कार्यालयको कार्यक्रमअनुसार, जिल्लाका छ वटा विद्यालय सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेव मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्चालन भएको हो ।

गुल्मीमा दुई लाख १२ हजार मतदाता

तम्घास– गुल्मीमा कूल दुई लाख १२ हजार २४९ मतदाता रहेका छन् । यसभन्दा अगाडि विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कूल एक लाख ९६ हजार ३ सय ४२ मतदाता रहेका थिए । अघिल्लो निर्वाचनभन्दा १६ हजार ६ सय ७ जना मतदाता थपिएका छन् ।

यस तथ्यांकमा अघिल्लो निर्वाचनपश्चात् मृत्यु भएका मतदाताको सङ्ख्या भने घटाइएको छैन । सम्बन्धित पालिकामा मतदाता नामावलीमाथि अध्यावधिक गर्ने, विरोध तथा त्रुटि सच्याइएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख श्यामलाल पाण्डेले जानकारी दिए ।

विसं २०७४ मा एक लाख ९६ हजार ३ सय ४२ मतदाता रहेकामा एक लाख एक हजार ६ सय ६१ जना महिला, ९४ हजार ६ सय ८० पुरुष तथा एक जना यौनिक तथा अल्प सङ्ख्यक थिए भने निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार ४ सय २५ मतदाता थिए भने क्षेत्र नं २ मा ९० हजार ९ सय १७ मतदाता रहेका थिए ।

जिल्लामा निर्वाचनका लागि १२ वटा नयाँ मतदानस्थल थप गर्न जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सिफारिस गरेको छ । रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा तीन/तीन वटा, चन्द्रकोट र सत्यवतीमा दुई/दुई तथा गुल्मीदरबार र कालिगण्डकीमा एक/एक वटा केन्द्र थप गर्न सिफारिस गरिएको निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।

यसअघि १ सय ३८ मतदानस्थल रहेकामा अहिले सिफारिस गरिएका स्थल स्वीकृत भए जिल्लामा कूल मतदानस्थलको सङ्ख्या डेढ सय हुनेछ । निर्वाचन आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएकालाई आगामी निर्वाचनका लागि मतदाताका रुपमा योग्य ठहर गरेको छ । रासस